चिनियाँ राष्ट्रपतिले भने- जनमुक्ति सेनालाई विश्वकै शक्तिशाली बनाउँछौं

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलन (कांग्रेस) बुधबार बिहानबाट सुरु भएको छ। स्थानीय समयअनुसार उक्त सम्मेलन बिहान ९ बजेबाट सुरु भएको छ। सम्मेलनको उद्घाटनमा समारोहमा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव एवं राष्ट्रपति सी जिनपिङले आफ्नो पहिलो कार्यकालको प्रगति विवरण सहितको मन्तव्य सुरु गरेका छन्। उनले आफ्नो पाँच वर्षे कार्यकाल आर्थिक विकासका दृष्टीले महत्वपूर्ण रहेको बताएका छन्। उनले अझै आर्थिक समृद्धि हासिल गर्नका लागि अवसर भएको बताए।

उनले चीन आफ्नै विशेषताको समाजवादमा प्रवेश गरेको बताएका छन्। राष्ट्रपति सीले राजनीतिक प्रतिवेदन पनि पेश गरेका छन्। प्रतिवेदनमा उनले चीनलाई एकताबद्ध गरेर समाजवादलाई नयाँ उचाइ दिने बताएको चिनियाँ सञ्चारमाध्यमले लेखेका छन्। राष्ट्रपति सीले जनमुक्ति सेनालाई अझै बलियो बनाउनुपर्ने समेत उल्लेख गरेका छन्।

उनले चिनियाँ सेनालाई विश्वकै शक्तिशाली बनाउन प्रविधि र रणनीतिक क्षमता विकासमा काम गर्नुपर्ने बताएका छन्। ग्रेट हल अफ दि पिपुलमा जारी कांग्रेसमा सहभागिताका लागि चीनका विभिन्न भागबाट २ हजार २८७ जना प्रतिनिधि बेइजिङ आइपुगेका छन्। सत्ताधारी पार्टीको सम्मेलनलाई ध्यानमा राखेर चीनभर विशेष सुरक्षा सतर्कता अपनाइएको छ। त्यस्तै कांग्रेस चलिरहेको स्थल ग्रेट हल अफ दि पिपुललाई विशेष रुपमा सिंगारेर अति आकर्षक बनाइएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको नेशनल कांग्रेस हरेक पाँच बर्षमा बस्नेगर्छ। नेशनल कांग्रेस चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च निकाय हो। यसलाई सो पार्टीको एक महत्वपूर्ण एवम् शक्तिशाली अंगका रुपमा लिने गरिन्छ। यसले आगामी पाँच बर्षका लागि कम्युनिष्ट पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीले आगामी पाँच बर्षमा गर्नुपर्ने कामहरुको योजना पनि पारित गर्नेछ।