सर्लाहीमा सुनचाँदी व्यवसायी साहको हत्या

नाकामा कडाइ गरी हत्याराको खोजी

सर्लाहीको पिपरियामा मंगलवार साँझ एक सुनचाँदी व्यवसायीको हत्या भएको छ । पसल बन्द गरेर घर फर्किदै गर्दा हरिपुर नगपालिकाको पिडारी बजारमा सुनचाँदी व्यवसायी गर्दै आएका कविलासी नगपालिका– ३ कविलासीका २६ वर्षीय सुनिल शाह माथी नचिनेका मानिसले आक्रमण गरेका थिए ।

 

उनको उपचारका क्रममा राती जिल्ला अस्पताल मलंगवामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । पसलमा रहेका गरगहना साथमै लिएर बाबुसँग मोटरसाइकलमा घर फर्किने क्रममा साँझ करिव ७ ः ३० बजे साह माथी आक्रमण भएको हो । मोटरसाइकलमा आएका तीन जना नचिनेका मानिसले साहको साथमा रहेको गरगहनाको झोलापनि लुटेर लगेका छन् ।

बाबु नगेन्द्र साहले छोरामाथी गोली प्रहार भएको बताएपनि घटनाको पुष्टी हुन बाँकी छ । मृतकको चिउँडो मुनि चोट देखिएकाले गोली प्रहार गरिएको वा अन्य कुनै धारिलो हतियार प्रहार गरिएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी राजेश थापाले जानकारी दिए । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ । घटना लगत्तै भारतसँग सीमा जोडिएका नाकाहरुमा कडाइ गरि हत्याराहरुको खोजी तीव्र पारिएको डिएसपी थापाले बताए ।