प्रदेश नम्बर २ को मतगणना यसकारण सुस्त
१ सय ३६ स्थानीय तह रहेका प्रदेश २ मा मतगणना सुस्त भएकाले चुनाव सकिएको छैटौं दिन शनिबार रातिसम्म १ सय १३ स्थानीय तहको मात्र परिणाम आएको छ । असोज २ गते भएको निर्वाचनको सम्पूर्ण परिणाम ५ दिनभित्र आइसक्ने निर्वाचन आयोगले बताएको थियो । तर, मत गन्ने काम सुस्त भएकाले अझै केही दिन लम्बिने देखिएको छ, कान्तिपुरमा खबर छ ।
‘सबै स्थानको परिणाम आइसक्न अझै २/३ दिन लाग्न सक्छ,’ आयोग प्रवक्ता सहसचिव नवराज ढकालले भने, ‘आयोगले लक्ष्यअनुसार नै काम गरिरहेको छ, यतिन्जेलसम्म झन्डै ८५ प्रतिशत परिणाम आइसकेको छ ।’
गणनामा ढिलाइ हुनुका कारण थोरै मतान्तर पनि हो । प्रवक्ता ढकालका अनुसार प्रतिस्पर्धा कडा भएपछि मतपत्र पटक-पटक प्रतिनिधिहरूलाई देखाएर गन्नुपर्दा ढिलाइ भएको हो । उनले गणनालाई व्यवस्थित र छिटो सक्न आयोगले निर्देशन दिनुका साथै आवश्यक सहयोग पनि पठाएको बताए ।
प्रदेश २ को ८ वटै जिल्लाका मतपत्र ठूलो आकारमा रहेकाले पनि गणनामा ढिला भइरहेको छ । दलहरूबीच आउने विवादले पनि मत गन्ने काम सुस्त हुन पुगेको छ । सबैको चासो रहेको प्रदेश २ को एक मात्र महानगर वीरगन्ज र तीनवटा उपमहानगरको परिणाम भने अझै आइसकेको छैन । सर्वजनिक पछिल्लो परिणाामअनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी स्थानमा जित हासिल गरेको छ ।