प्रदेश नं. २ मा ३६ हजारभन्दा बढी उम्मेदवार

प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहनेको संख्या उत्साहजनक देखिएको छ । निर्वाचित हुने पदभन्दा ६ गुना बढी उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार १३६ स्थानीय तहका ६६ सय २७ पदका लागि ३६ हजार ७३ जनाले उम्मेदवारी दिएका छन् ।

गाउँ–नगरको प्रमुखमा १७ सय ८३ र उपप्रमुखमा ११ सय ३० ले उम्मेदवारी दिएका छन् । त्यसैगरी, वडाध्यक्षमा आठ हजार १८ जना, खुला दुई सदस्यमा १३ हजार ७७, महिला सदस्यमा ६३ सय ६० र दलित महिला सदस्यमा पाँच हजार ७०५ जनाले उम्मेदवारी दिएका छन् ।

९१ दललाई प्रदेश र प्रतिनिधिसभा निर्वाचन चिह्न प्रदान

निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधिसभाका लागि विभिन्न राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । आयोगको बिहीबार बसेको बैठकले ९१ वटा राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको हो । आयोगले दुई वा दुईभन्दा बढी दलहरू संयुक्त भई एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग चाहेका हकमा समेत राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम दर्ता गरी एकल चुनाव चिह्न प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

राजपालाई छाता

आयोगले राजपालाई चुनाव चिह्न छाता दिएको छ । छाता चुनाव चिह्न पहिले जनशक्ति नेपाल पार्टीले दाबी गरेको थियो, तर उसले गोलाकारभित्र छाता निर्वाचन चिह्न पाएको छ ।

लोहनीको पार्टीलाई आयातकारभित्र हलो

निर्वाचन आयोगले प्रकाशचन्द्र लोहनीको एकीकृत राप्रपा राष्ट्रवादी पार्टीलाई आयातकारभित्र हलो निर्वाचन चिह्न दिएको छ । लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादीले राप्रपाको पुरानो निर्वाचन चिह्न हलो दाबी गरेको थियो । पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकलाई भने गोलाकारभित्र हलो निर्वाचन चिह्न दिएको छ । राणाको पार्टीले पनि हलो चिह्न नै दाबी गरेको थियो ।

संयुक्त निर्वाचन चिह्न

निर्वाचन आयोगले संयुक्त रूपमा चारवटा निर्वाचन चिह्न प्रदान गरेको छ । आयोगका अनुसार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को निर्वाचन चिह्नमा समाजवादी जनता पार्टी नेपाल र जनजागरण पार्टी सहभागी हुनेछन् । त्यसैगरी, पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी नेपाल र आधुनिक पार्टी नेपालले पनि निर्वाचन चिह्न संयुक्त रूपमा प्रयोग गर्नेछन् । नेकपा माले र जनसमाजवादी पार्टीले न मालेको निर्वाचन चिह्न संयुक्त रूपमा प्रयोग गर्नेछन् । राष्ट्रिय शिवसेना र राष्ट्रिय नागरिक पार्टीले पनि संयुक्त रूपमा निर्वाचन चिह्न प्रयोग गर्ने आयोगले जनाएको छ । नयाँ पत्रिबकाबाट