अाजदेखि सुरूभयाे सोह्रश्राद्ध, नदी किनारमा श्राद्ध गर्नेहरुको भीडभाड

आजदेखि सोह्रश्राद्ध अर्थात पितृपक्ष शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि औंशी तिथिसम्म रहने यस अवधिमा छोरा-छोरीहरुले आफ्ना दिवंगत पितृको श्राद्ध तथा तर्पण गर्ने गर्दछन् । घर,नजिकका तीर्थ तथा तालकुण्डमा गई स्नान गरी वैदिक विधिअनुसार पितृहरुलाई पिण्डदान र तर्पण गर्ने गरिन्छ ।

काठमाडौंको पशुपति, गोकर्ण, जनकपुरको गंगासागर, कालीगण्डकी किनारका विभिन्न तीर्थस्थलहरु लगायतका नदी किनारमा आज बिहानैदेखि श्राद्ध गर्नेहरुको भीड लागेको छ । यो अवधिभर बाबुआमा नहुनेहरुले माछामासु, लसुन, प्याज जस्ता तामसी परिकार खान नहुने धार्मिक परम्परा छ ।

यस्तै, यस अवधिमा बाबुआमा नहुनेहरुले एकछाक मात्रै खाने चलन पनि छ । आश्विन कृष्ण पक्षमा सूर्य कन्या राशिमा रहेका बेला पितृका निम्ति पर्व जस्तै हुने धार्मिक मान्यता छ ।

हिन्दू धर्ममा पितृको स्थान देवताको भन्दा पनि माथि रहने गर्दछ । ठूला चाडपर्व, यज्ञ जस्ता ठूला कर्म गर्नु अघि पनि पितृको सम्झना गर्ने परम्परा रहेकाले बडादशैं र तिहार जस्ता ठूला पर्वअघि पितृ पक्षमा सम्पूर्ण पितृहरुको सम्झना गर्ने गरिएको विश्वास गरिन्छ ।