लापरबाहीकाे नमूना नेपालगन्ज भेरी अञ्चल अस्पताल

इमर्जेन्सी बिरामीसमेत पाउँदैनन् उपचार

पेट दुखेर असह्य भएपछि नेपालगन्ज उपमहानगरपालिका–९ बस्दै आएकी सीमा थारू उपचारका लागि नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालको इमर्जेन्सीमा गइन् । छिटो र सस्तोमा उपचार पाइने आशामा उनी अञ्चल अस्पतालको इमर्जेन्सीमा पुगेकी थिइन् । तर, उनले सोचेजस्तो भएन ।

इमर्जेन्सीमा त सिकारु स्वास्थ्यकर्मीबाहेक अरू कोही थिएनन् । इमर्जेन्सीमा पुगेको धेरै बेरसम्म सोध्ने कोही नआएपछि उनी निजी क्लिनिकतर्फ निस्किइन् । ‘इमर्जेन्सीमा चिकित्सक थिएनन्, एचए पढिरहेका भाइबहिनीले अन्यत्र उपचार गराउन जानुस् दिदी भने,’ उनले भनिन् ।

एक्सरेमा समेत लापरबाही

नेपालगन्ज उपमहानगरपालिका–९, शान्तिनगरकी लक्ष्मी पौडेल छोरीको एक्सरे गर्न भेरी अञ्चल अस्पताल गइन् । चिकित्सकले कम्मरमुनिको एक्सरे गर्न पर्चा बनाएका थिए । तर, एक्सरेमा कार्यरत कर्मचारीले घाँटीको एक्सरे गर्ने तरखर गरे । घाँटीको एक्सरे होइन भनेर रेडियोग्राफरसँग पटक–पटक भन्दासमेत नमानेको उनले बताइन् । ‘पछि चिकित्सक नै आएर भनेपछि मात्रै रेडियोग्राफरले कम्मरमुनिको एक्सरे गरिदिए,’ उनले भनिन्, ‘मलाई जानकारी नभएको भए कम्मरमुनिको एक्सरे हुनुपर्नेमा घाँटीको हुने थियो, धन्न जोगियौँ ।’

सीमा र लक्ष्मी मात्रै होइन, भेरी अञ्चल अस्पताल आउने धेरैजसो बिरामी र आफन्तले अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीको लापरबाहीको सिकार बन्नुपरेको गुनासो गरेका छन् । बोल्न र कुरा राख्न सक्नेले अस्पतालबाट थोरबहुत सेवा लिए पनि सोझा र गरिब सेवाग्राहीले सेवाको नाममा दुःख पाइरहेका छन् ।

असहाय सेवा एकाइमा अभद्र व्यवहार

गरिब, असहाय, ज्येष्ठ नागरिकका लागि स्थापना गरिएको सामाजिक सेवा एकाइबाट राम्रो सेवा नपाएको सेवाग्राहीको गुनासो छ । सम्पूर्ण कागज पूरा गरेर जाँदासमेत उक्त एकाइमा कार्यरत कर्मचारीले बेवास्ता गरेको नेपालगन्ज सल्यानी बंगलाकी मुना शाहीले गुनासो गरिन् ।

उनले सामाजिक सेवा एकाइले औषधि, एक्सरे र प्याथालोजी सेवासमेत बाहिरबाट लिन लगाउने गरेको बताइन् । सामाजिक सेवा एकाइका कर्मचारीले बिरामीसँग राम्रो व्यवहार नगरेको उनको भनाइ छ । उनले भनिन्, ‘राम्रोसँग सोध्दासमेत झर्केर बोल्छन् ।’

अस्पताल प्रमुखलाई टेर्दैनन् कर्मचारी

भेरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट वीरेन्द्रबहादुर चन्दलाई अस्पतालका कर्मचारी र चिकित्सकले नपत्याएका कारण अस्पताल छाडा भएको सेवाग्राहीको भनाइ छ ।

‘बिरामी बस्ने कोठाका शøयाको कपडा मैला भएका छन्,’ बुबाको उपचार गर्न भेरी अञ्चल अस्पताल आएका पत्रकार यदुराज मिश्रले भने, ‘बेडमा सफा तन्ना राख्न र शौचालय सफा गर्ने व्यवस्था मिलाउन आग्रह गर्दा कर्मचारीले भनेको नमान्ने गरेको मेडिकल सुपरिटेन्डेन्टले जवाफ दिए ।’शैयामा सफा लुगा राख्न र शौचालय सफा गर्न निर्देशन दिँदा कर्मचारीले टेर्दैनन् भन्ने जवाफ मेडिकल सुपरिटेन्डेन्टले दिएको उनले बताए । नयाँ पत्रिकामा खबर छ ।