इन्डियाभन्दा ठूलो आइडिया

एकदिन बादशाह अकबरले राजसभा बोलाएर भारदारहरुलाई प्रश्न गरे– ‘ल भन दिल्लीमा कागको संख्या कति होला ?’ बादशाहको अनपेक्षित जिज्ञासाले सबै अक्क न बक्क परे । कागको संख्या गन्नुको कुनै प्रयोजन नै नभएकाले कसैलाई हेक्का नहुनु स्वाभाविकै थियो । त्यसैबेला बीरबल राजसभामा टुप्लुक्क देखा परे । उनलाई देख्नासाथ राजाले यही प्रश्न दोहोर्याए । बादशाहको प्रश्न झर्न नपाउँदै बीरबलले उत्तर दिए– ‘पृथ्वीनाथ ! दिल्लीमा यत्तिखेर सबै मिलाएर तीस हजार नौ सय असी काग छन् ।’

लेखक

यस्तो कठिन प्रश्नको सहजै उत्तर पाएर सशंकित राजाले फेरि सोधे– ‘तिमीले त गनेकै जस्तो गरी फ्याट्ट बतायौ । काग गनेर बस्ने फुर्सद तिमीलाई कहिले भयो ? कसरी गन्यौ ? यदि तिमीले भनेको संख्या एक मात्र तलमाथि भयो भने त्यति नै रुपियाँ दण्डित गरिने छ ।’ बादशाहको शंका निवारण गर्दै बीरबलले भने– ‘शहरमा कागको संख्या मैले भने जति नै हो । यदि सरकारले गन्दा कम या ज्यादा भएमा म जिम्मेवार हुने छैन किनभने कोही परदेश गएका भए घटन सक्छ, कतैबाट पाहुना आएको खण्डमा बढ्न सक्छ । यदि यो दुवै नभएको स्थितिमा मेरो गन्तीमा फरक पर्दैन ।’ बीरबलको तर्कपूर्ण उत्तरबाट राजा मौन भए ।

नेपालको संघीय गणतान्त्रिक व्यवस्था र बीरबलको काग गनाई ठ्याक्कै उस्तै भएको छ । नेपालको राजनीति दिल्ली र चीनका यस्तै प्रयोजनहीन काग गनेर उनीहरुको रंग खुट्याउनमै अल्मलिएको दशकौं भइसक्यो । प्रधानमन्त्रीको भारत भ्रमणमा यस्तै बेतुकका खिचडी पाक्ने गर्छन् । दुई तिहाई मत पाएको सरकारका प्रधानमन्त्री बीपी कोइराला ६ दशकअघि भारत भ्रमण जाँदाको मनोविज्ञानमा अहिले पनि एकरत्ति फरक आएको छैन । उनले भारत जानुअघि नेपाल कम्युनिष्ट पार्टीका नेता केशरजंग रायमाझीलाई बोलाएर केही खर्च दिँदै आफ्नो विरोधमा नाराजुलुस लगाउन अ¥हाएका थिए ।

जुलुसले नेपालको पक्षमा काम गराउन दबाब पर्ने उनको बुझाइ थियो । चीनको भ्रमणमा जाँदा प्रो इन्डियन भनेर नेपाली राजनीतिमा परिचित आफ्नै गृहमन्त्री सूर्यप्रसाद उपाध्यायलाई चीनकै भूगोलमा आफ्नो छोरो हेर्ने जिम्मा दिएर राजकीय निर्णयमा सहभागी नगराई बीपीले राजनीतिक बठयाइँ गरेको समेत इतिहासमा उल्लेख छ । बीपीको राजनीतिक दर्शन सर्वप्रिय भएपनि सबल नेतृत्व लिएर देशलाई समृद्ध बनाउने अभियानमा उनी चुकेको घाम जत्तिक्कै छर्लङ्ग छ ।

भारत र चीनलाई डिलर बनाएपछि मात्र नेपालमा खुद्रे व्यापार चल्छ भन्ने मानसिकतामा कहिल्यै परिवर्तन आएन । हिमालसम्मको उत्तरी सीमालाई आफ्नो देशको फैलावट मान्ने नेहरु डक्टिन र हातका पाँचवटा औंलामध्ये एउटा औंला नेपाल ठान्ने माओत्सेतुङको कुटनीति उनीहरुकै देशमा खोटो मोहोर भइसक्दा पनि हामी भने पुछपाछ गरेर त्यसैलाई शालिग्राम मानेर पुजिरहेका छौं । उत्तर– दक्षिणमा पानी पर्दा यहाँ छाता किन्नेहरुको संख्या बढ्नुको प्रयोजन पनि त्यही नै हो । खुर्सानी स्वभावैले पिरो हुन्छ । चिनी गुलियो हुन्छ भन्ने कुन उल्लूलाई थाहा नहोला । तर हाम्रो राजनीति हाँक्ने सारथीहरुले दशकौं देखि खुर्सानी पिरो र चिनी गुलियो भनेर भाषण गर्दा पर्ररर ताली पाइरहे । शनिबारपछि आइतबार आउँछ भन्नेहरु क्रान्तिकारी दरिए ।

बाउछोरा, दाजुभाइ, लोग्ने स्वास्नीले देशको कार्यकारी पद बाँडचुँड गरेर खाएको दृश्यलाई नेताहरुले ‘लोकतन्त्रको सुन्दर पक्ष’ भनेर धुलो उडाउँदा त्यही धुलोलाई तिलक मानेर शेचन गर्नु आज्ञाकारी नागरिकको कर्तव्य बन्यो । सत्तारोहण हुँदा लोकतन्त्र फलेको फूलेको देख्ने सत्ताबाट झर्नासाथ लोकतन्त्रमा खग्रास ग्रहण लागेको भन्दै भाउन्न हुनेहरु अब्बल दर्जाका साधक भए । नेपालमा यस्तो लोकतन्त्र आयो कि चुनावमा तेस्रो स्थान प्राप्त गरेको दल माओवादीले मुलुकका ५ वटा सम्माननीय पद मध्ये बहुमत पद हात पार्दा पहिलो दल नेपाली काँग्रेस अधिकांश समय उत्तानो परेर दिउँसै तारा गनेर बस्न बाध्य भयो । बल्लतल्ल काँग्रेसले यतिबेला शेरबहादुर देउवाको नेतृत्वमा सत्ताको करारी जागिर पाएको छ ।

नेपालमा लोकतन्त्रको अभ्यास विचित्रको छ । २०१५ सालमा नेपाली काँग्रेसले दुई तिहाई ल्याएर वीपीको नेतृत्वमा सरकार बनायो । संसदको अजेय शक्तिअघि शक्तिहीन मानिएका राजाको एक प्रहारले त्यत्रो चट्टानी जनप्रतिनिधिको धरहरा उठ्नै नसक्ने गरी ढल्यो । अचम्म त बीपीकै भक्त उनलाई जेल लैजाँदा खुचिङको अवस्थामा पुगिसकेका थिए । दुई तिहाई मत प्राप्त प्रधानमन्त्रीलाई दुईजना सिपाही आएर चौखुर्याएर लैजाने त्यो प्रजातन्त्रको जग कस्तो थियो ? फूलगर्दा ढलेको लोकतन्त्रको विकल्पमा राजाले पञ्चायत ल्याए । अन्ततः एउटा भीडले त्यसको पनि अन्त्येष्टि ग¥यो । काँग्रेसको नेतृत्वमा बहुमत आयो । दुईचार लोभीपापी सांसदका गतिविधिलाई कारण देखाएर फेरि पञ्चायतका खेलाडीलाई बहुदलमा हिरो बनाइयो ।

यही प्रवृत्ति हावी हुँदै जाँदा जनताको म्याण्डेट लिएर आएको सरकार प्रमुखलाई राजाले ‘असक्षम’ घोषणा गरे विडम्बना त्यही रिजल्ट अन्तिम बन्यो । ओखलमा टाउको राखेपछि मुसलको के डर भने भैंm माओवादीले थापेको तुरुप सदर गर्दै दलहरुले राजसंस्था हुत्याए । सबै समस्याको ओखती गणतन्त्र भएको बताएर दलहरुले जनतालाई भेडोमा अनुवाद गराए । नेताहरुले गल्ती नगर्ने भनेर तामो, तुलसो छुन मात्र बाँकी राखे । चट्की शैलीमा राजनीतिक परिवर्तन हुँदै गए । दलीय सिन्डिकेटका चारजना नाईके बसेर गोजीमा लगेको प्रस्ताव पास गर्दै जाने अनि अरुले ताली बजाउने संस्कृति हावी बन्दै गयो । आखिर संविधान पनि यस्तै महाजालको पुलिन्दाजस्तै बन्यो । हुँदाहुँदा बाहुन हुनु , लोग्ने मान्छे हुनु , कालो या गोरो हुनु , पहाड र हिमालमा जन्मनु अपराध भएको जस्ता कुतर्क जन्मिन, जन्माइन थाले । पाठेघर, स्तनका मोल खोज्नेहरु धरामा बढ्दै गए ।

कुनै जात, भूगोलमा आफ्नो स्वेच्छा वा कसैको तोक लगाएर जन्मिन पाइने भए यतिबेला नेपाली नागरिकता फिर्ता गरिएको चाङले देशका प्रशासनिक निकाय भरिन्थे होलान । कतिसम्म अशिष्ट दृश्य देखिए भने जन्म दिने बाउआमा बृद्धाश्रममा मिल्काउने तर चुरेका गिटीबालुवाको माया गरेर अनसन र विरोधमा उत्रने बढे ।  यही व्याकरण नमिलेको दृश्यभित्र संसार बदल्ने आँट र साहस लिएर मान्छेको रगत पानीमा अनुवाद गरेका प्रचण्डको राजनीति कमल थापाको राजनीतिक आदर्शमा विलीन भएको छ । अबको एक वर्षभित्र प्रचण्ड मुसा राजनीतिको यस्तो महानाइके हुने छन, त्यसबेला विजय गच्छदारको सत्तालालसा फिका हुनेछ । सत्ता राजनीतिको सम्पूर्ण पेटी ठेकेदारी प्रचण्डले पाउने छन् ।

भोग्दै जाँदा अब एउटा यस्तो घडी आउने छ, सत्तालाई जागिर ठान्नेहरुले पेन्सनको सुविधा दिलाएर राजनीतिलाई विधिवत जागिरमा रुपान्तरण गर्ने छन् । नेपालको राजनीतिमा अब के हुन्छ ? यही अमूर्त र त्रासदी प्रश्नको उत्तर खोज्दाखोज्दै नातिपुस्ता हजुरबामा परिणत हुँदा पनि भेउ नपाई धर्तीबाट विदा हुनुपरेको दृष्टान्त भोग्नेहरु पाइलापाइलामा भेटिन्छन । स्याल कराउने र कुखुरो हराउनेको उक्ति नै हाम्रो राजनीतिको जमिन प्रमाणित हुनु नेपालीको दुर्भाग्य नियति बन्दै आएको छ ।

आफ्नो दलको महाधिवेशनमा प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर संविधानसभाको चुनाव स्वीकार्ने प्रचण्डको उक्ति जति हावादारी लाग्थ्यो, कालान्तरमा त्यही सत्य सावित भयो । माओत्सेतुङले लेखेको ‘रेडबुक’ पुस्तक ढोगेर मात्र काम श्रीगणेश गर्ने त्यो बेलाको चिनियाँ दीक्षा र अख्तियार, अदालतका विषयमा अनावश्यक उछालेर त्यही रेडबुकको दर्जामा पुर्याउने जुन धृष्टता देखिँदैछ, त्यसले शुभ लक्षण दिँदैन । जसले कोइला खान्छ, त्यसले नै कालो पदार्थ उत्पादन गर्ने हो ।

तर सरकारी सपथ खाएर आएको एउटा सामान्य व्यक्तिलाई असामान्य अलंकार दिएर देशभन्दा माथि राख्न खोज्ने उत्ताउला राजनीतिज्ञ, लेखक, विश्लेषक, पत्रकारहरुले सुदिनको आमन्त्रण गरिरहेका छैनन् । हिटलर, मुसोलिनी, इदिअमिन, विन लादेन, सद्दाम हुसेनदेखि जंगबहादुरसम्मका पात्र कुनै दिन दालभात डुकू पीडित थिए । यस्तै अवसरवादी र छाते च्याउजस्तो मनोविज्ञानका मानिसहरुको भीडले उनीहरुलाई निर्दयी शासक बनायो । साँचो अर्थमा नेताहरु कार्यकर्तामाझ घोडाभन्दा अघि देखिएको बग्गीजस्ता भएका छन् । तर मुखुण्डो फेरेर अनुहार त किन किन फेरिन्थ्यो र ?

आफ्नै चेला चपाटीहरुको नजरमा उनीहरु निर्देशित रोबर्टभन्दा माथि उठ्न सकेका छैनन् । बरु तिनीहरुको चरित्र दूधचोर विरालाको जस्तो भएको छ । जसले दूध खाएको देखिदैन तर कुटाई खाएको सबैले देख्छन् । यदि राजनीतिमा नैतिकता नामको कुनै पदार्थ जीवित हुन्थ्यो भने समकालिन राजनीतिका सारथीहरुले नाकका चालमा सत्ताको लालचा छोडनु पथ्र्यो । मार्टिन लुथर किंग भन्छन्– ‘जहाँ सज्जन जान डराउँछन, त्यहाँ मूर्खहरुको ठेलमठेल हुन्छ ।’ अन्ततः कर्ममय संसार नै प्रेमको फूलबारी हो । त्यसैले त नीतिले खबरदारी लगाउँदै भनेको छ– ‘विना प्रेमको उपासना मुर्दा समान हुन्छ । नीति धेरै छ, आध्यात्मिकता छैन् । औपचारिकता छ, प्रेम छैन् । गणित छ तर काव्य छैन भने त्यो ज्ञानको कुनै सार हुँदैन् ।’
[email protected]