दोक्लाम विवाद अन्त्य गर्न भारत र चीन सहमती नजिक

एजेन्सी,करिब दुई महिनादेखि भारत र चीनबीच तनावको विषय बनेको सीमावर्ती दोक्लाम सीमा क्षेत्रबाट भारतीय सेना फर्किने भएको छ तर चिनियाँ सेना भने सीमा क्षेत्रमा गस्तीको लागि बस्ने भएको छ । भारतीय विदेश मन्त्रालयले सोमबार बिहान विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । ‘दोक्लाममा भएको घटनालाई लिएर पछिल्ला साताहरुमा भारत र चीनले कूटनीतिक संवादलाई जारी राखिएको छ ।

दुईबुँदे विज्ञप्तिको दोस्रो बुँदामा भनिएको छ, ‘कूटनीतिक संवादहरुमा दोक्लामस्थित तनावपूर्ण क्षेत्रमा रहेको सीमावर्ती सैनिक गतिविधिबाट दु्रततर रुपमा छुटकारा पाउनेबारे चीनसँग समझदारी कायम भएको छ ।’

तर, चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुङयिङले भारतीय सेना हटे पनि चिनियाँ सेनाले उक्त क्षेत्रमा गस्ती कायम राख्ने जनाएकी छन् । ‘चीनले आफ्नो भूमी रक्षा गर्न पाउने अधिकारको अभ्यास गरिरहन्छ’, उनले बताइन् । त्यसैगरि भारतले भने चिनियाँ गतिविधिले आफ्नो उत्तरपूर्वी क्षेत्रमा सुरक्षा चुनौति पुगेकाले दोक्लाममा सेना पठाएको दाबी गरेको थियो ।

भारतीय सेना कमब्याक भएसँगै दोक्लाम विवाद स्थगित भएको अनुमान गरिएको छ । अर्को महिना चीनमा हुने ब्रिक्स सम्मेलनको पूर्वसन्ध्यामा दुई देशबीच यस्तो सहमति भएको हो । चीनमा हुने सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुने सम्भावना रहेको छ ।