भारतमा बलात्कारी बाबाका समर्थनमा तान्डव,२९ को मृत्यु, २ सय घाइते

को हुन् गुरमित राम रहिम सिंह ?

एजेन्सी, बाबा राम रहिम सिंहलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेपछि भारतको हरियाणा राज्य यतिबेला तनाबग्रस्त बनेको छ । बाबाका समर्थकहरु हिंसामा उत्रिएपछि तनाब बढेको हो । हरियाणाको पंचकुला स्थित सिआईबी विशेष अदालतले बाबा राम रहिम सिंहलाई बलात्कारी करार गरेपछि हिंसा भट्किएको छ ।

 अदालतले दोषी ठहर गरेपछि भड्किएको हिंसामा २९ जनाको मृत्यु भएको छ । गैरनाफामूलक सामाजिक तथा आध्यात्मिक संस्था डेरा सचा सौदाका प्रमुख गुरमित राम रहिम सिंहलाई १५ वर्षअघि भएको बलात्कारमा हरियाणाको एक अदालतले दोषी ठहर गरेपछि शुक्रबार भड्किएको हिंसामा उनीहरूको मृत्यु भएको हो ।

अदालतको फैसलाले भड्कियो हिंसा

फैसलालगत्तै अदालत परिसरमा जम्मा भएका गुरुका समर्थकले हिंसात्मक प्रतिक्रिया प्रदर्शन गरेका थिए । मारिनेमध्ये अधिकांश गुरुका शिष्य रहेको अनुमान गरिएको छ । हरियाणामा रहेको आश्रमबाट चन्डीगढस्थित पञ्चकुलाको अदालतमा पुग्दा सिंहलाई एक सयवटा भन्दा बढी सवारीले सुरक्षा दिएका थिए ।

उत्तेजित समर्थकहरूले हरियाणाको पञ्चकुला सहरमा शुक्रबार दिउँसभर उत्तेजित प्रदर्शन गरेका थिए । सिंहका समर्थक सो सहरका अधिकांश भागमा तोडफोडमा उत्रिएका थिए । प्रदर्शनकारीले कम्तीमा पनि दुईवटा रेल स्टेसनमा आगो लगाइदिएका थिए । अनियन्त्रित भिडले सवारीसाधनमा तोडफोडसमेत गरेका थिए ।

भिड नियन्त्रण गर्न प्रहरीले पञ्चकुला नगरमा अश्रु ग्यास र गोली प्रयोग गरेको थियो । गोली प्रहार गर्दा पनि स्थिति नियन्त्रणमा आउन नसकेपछि पञ्चकुलामा स्थानीय प्रशासनले कर्फु आदेश जारी गरेको भारतीय समाचार संस्थाले जनाएका छन् ।

 

अदालत र सरकारविरुद्ध प्रदर्शन

आफ्ना लाखाैँ शिष्य भएको दाबी गर्ने कथित गुरु सिंहमाथि १५ वर्षअघि आफैँले सञ्चालन गरेको शिविरमा दुई महिलामाथि बलात्कार गरेको आरोप लागेको छ । न्यायाधीश जगदीपले सिंहमाथि २८ अगस्टमा सजाय सुनाइने बताए । उनले डेरा प्रमुख रहिमलाई सात वर्षदेखि आजीवन कैद हुन सक्ने बताए ।

शुक्रबार अदालतको फैसला हुनुअघि चन्डीगढमा सिंहका २ लाखभन्दा बढी शिष्य भेला भएका थिए । अदालतले सिंहमाथि बलात्कारको अभियोग लगाएपछि उनीहरूले अदालत र सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

स्थिति नियन्त्रणमा लिन हजाराैँ सेना, प्रहरी र अर्धसैनिक फौज परिचालन गरिएको थियो । भिड नियन्त्रण लिन प्रहरीले पानीका फोहोरा र टियर ग्याससमेत फालेको थियो । पञ्चकुला सहर र पन्जाब राज्यका विभिन्न भागमा कर्फु लगाएको छ । सिंह पक्राउ भएपछि राजधानी नयाँदिल्लीमा पनि हिंसात्मक प्रदर्शन भएका छन् । दिल्लीमा दुईवटा रेलमा आगो लागेको छ । अदालतले दोषी ठहर गरेपछि ५० वर्षीय सिंहलाई सेनाले पक्राउ गरी अदालत लगेको छ ।

हरियाणा र पन्जाबमा सुरक्षा सतर्कता

हरियाणा सरकारकाले सिंहका समर्थकलाई चन्डीगढ यात्रा गर्न अनुमति दिएको भन्दै पन्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले हरियाणा सरकारको आलोचना गरेका छन् । चन्डीगढ दुवै राज्यको राजधानी हो । हिंसापछि दुवै राज्यका सीमा सिल गरिइएको छ ।

सुरक्षा संवेदनशीलताका कारण हरियाणाका स्कुल, सरकारी कार्यालय, सडक तथा रेलवे बन्द गरिएका छन् । साथै इन्टरनेट तथा मोबाइल फोन सेवा पनि ७२ घन्टादेखि बन्द छन् । पन्चकुलामा हेलिकोप्टरले हवाई गस्ती गरिरहेको छ । अन्य स्थानमा पनि हिंसा भड्किन सक्ने खतरामा पन्जाब सरकारले केन्द्रीय सरकारसँग सुरक्षा फौजको सहयोग मागेको छ । दिल्लीको मेट्रो रेल स्टेसनमा हाई अलर्ट कायम गरिएको छ । उत्तर प्रदेश र अन्य राज्यमा कडा सुरक्षा सतर्कता कायम गरिएको छ ।

यसैबीच अदालतको फैसलालाई चुनौती दिँदै डेराका प्रमुख सिंहले पुनरावेदन अदालतमा निवेदन दिने बताएका छन् । ‘अदालतले अन्याय गरेको छ । हामीले उच्च न्यायालयमा पुनरावेदन गर्नेछौँ,’ सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । हिंसामा नउत्रन पनि आह्वान गरेका छन् ।

को हुन् गुरमित राम रहिम सिंह ?

– गैरनाफामूलक सामाजिक तथा आध्यात्मिक संस्था डेरा सचा सौदाका विवादास्पद नेता
– विश्वभर आफ्ना ६ करोड शिष्य रहेको सिंहको दाबी
– २३ वर्षको उमेरदेखि सो सम्प्रदायको नेतृत्व
– रक कन्र्सटमा प्रस्तुति र केही चलचित्रमा समेत अभिनय
– चम्किलो र रंगीचंगी पोसाकका कारण रकस्टार बाबाले समेत परिचित
– शिख र हिन्दूवादीका कट्टर विरोधी
– हत्या र बलात्कारका विभिन्न आरोप