प्रधानमन्त्री देउवाले माेदीकाे अगाडि भने – संविधान संशोधनको पुन,प्रयास हुन्छ

वार्ता जारी रहने अझै मोदीको विश्वास

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा दुई तिहाई जुटाएर पुनः संविधान संशोधनको प्रयास गर्ने बताएका छन्। भारतको पाँच दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा संविधानलाई सर्वस्वीकार्य बनाउन संशोधनको प्रयास जारी रहेको बताए। लिखित मन्तव्य पढिरहेका प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीले उठाएको प्रसंगको जवाफ दिने क्रममा संविधान संशोधनबारे बोलेका हुन्।

संविधान संशोधनको विषय भने प्रधानमन्त्रीको लिखित भाषणमा थिएन। देउवाले ‘संसदमा दुईतिहाई नहुँदा राजपासहित दक्षिणी क्षेत्रका बासिन्दाको माग सम्बोधन गर्न नसकेको’ बताए। संविधानमा केही विषय अझै ‘पेन्डिङ’ (बाँकी) रहेको बताउँदै प्रधानमन्त्रीले आगामी दिनमा बहुमत पुर्‍याएर सबै पक्षको माग सम्बोधन गर्ने पनि बताए।

‘केही मुद्दाहरू अझ पनि पेन्डिङ छन्। ‘साउदर्न पार्ट’ (दक्षिणी) का नागरिक र राजपा पनि चुनावमा सहभागी हुन सकुन् भनेर संविधान संशोधनको प्रयास गर्‍यौँ तर संसदमा दुईतिहाई जुटाउन नसक्दा सफल भएन’, देउवाले भने, ‘तर धन्य, उनीहरु चुनावमा सहभागी हुने भएका छन्।’ आगामी दिनमा संविधान संशोधन हुने र संविधान सर्वस्वीकार्य बन्ने देउवाको विश्वास छ।

संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई चरणको स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरी लोकतान्त्रिक व्यवस्था मजवुत बनाउन भूमिका निर्वाह गरेकोमा देउवाको प्रशंसा ग। उनले अगाडि भने ‘मलाई विश्वास छ तपाईँको कुशल र अनुभवी नेतृत्वमा समाजको सबै वर्गसँग वार्ता गर्ने प्रक्रिया जारी रहनेछ र नेपालमा सबै पक्षको आकांक्षा समाहित गर्दै संविधान सफलतापूर्वक लागू गर्न सक्नेछ।’

प्रधानमन्त्रीको रुपमा आफू चौँथो पटक भारत भ्रमण रहेको बताउँदै देउवाले भारतले दिएको आतिथ्यताप्रति कृतज्ञता व्यक्त गरे। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन चाँडै सिध्याउने प्रतिवद्धताप्रति प्रधानमन्त्री देउवाले धन्यवाद दिएका छन्। त्यस्तै कुशाहा कटैया र रक्सौल परवानीपुर प्रशारण लाइन निर्माणप्रति पनि धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले यसले नेपालका नागरिकलाई धेरै सजिलो हुने बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो भाषणको सुरुवातमा प्रधानमन्त्री शेरबहादुर देउवासहित भारत भ्रमणमा रहेका नेपाली टिमलाई नेपाली भाषामा नै संबोधन गरी स्वागत गरेका थिए। उनले भनेका थिए ‘तपाईँहरूका भारतमा स्वागत गर्दा मलाई धेरै खुशी लागेथ्यो।’

भारतीय प्रधानमन्त्री मोदीले दुवै देशको देशको नियती एक अर्कासँग जोडिएको भन्दै एक अर्काको समृद्धिमा अर्कोको महत्वपूर्ण भूमिक हुने बताए। ‘नेपालको शान्ति स्थायित्व र आर्थिक समृद्धिप्रति भारत सजग रहेको छ’ उनले भने ‘नेपालको आर्थिक विकासको प्रयासमा भारतले साझेदारी गर्नेछ।’