आफ्नालाई खातैखात, पीडितलाई पुर्पुरोमा हात, राहतमा पनि यस्ताे राजनीत !

अविरल वर्षापछि आएको वाढी तथा डुबानको समस्याले तराईका नागरिक पीडामा छन् । बाढी र डुवानबाट कतिले आफ्नो परिवार गुमाए भने कतिले घरबार । विपदको यो समयमा राहतको पखाईमा रहेका तराईवासीको पीडामा सरकारी निकायदेखि गैरसरकारी तथा विदेशी संस्थाहरु संलग्न भएका छन् । यद्यपी राहत वितरणको नाममा यो समयसम्म कोही बास्तविक पिडित समक्ष पुगे त कोहीले चर्चामा आउने, देखाउने काम मात्रै पनि गरे ।

यही क्रममा अहिले राहत वितरणको काम पिडित समक्ष पुग्न नसकेको गुनासो आउन थालेको छ । भूकम्पको समयमा राहत वितरणमा पारदर्शीता हुन सकेन् । यो पटक भने सरकार अलि चनाखो भएको हो की भन्ने लागेको थियो । तर पनि समस्या जस्ताको त्यस्तो नै देखियो । निरन्तर “हामीले राहत पाईनौ” भन्ने पिडितको गुनासो आइनैरहेको छ ।

गृहमन्त्री जनार्दन शर्माले संघ संस्थाहरुलाई सरकारसँग सहकार्य गरेर मात्रै राहत वितरण निर्देशन दिएको भएपनि कडाईका साथ कार्यान्वयन भएको देखिँदैन । सोहि कारण राहतमा ‘राजनीति र आफ्नाकेन्द्रीत’ भएको पाइएको छ । मोरङको रङ्गेली नगरपालीका १ मा २ दिन पहिला विराटनगरको रोटरी क्लब राहत वितरणका लागि पुग्यो ।

स्थानिय बोमलाल खवासका अनुसार रोटरी क्लबको राहत राजनीतिक दल निकट र चिनजानको व्यक्ति केन्द्रित भयो । जो पिडित हो त्यो परिवारले राहत नपाएको उनको भनाई छ । चिनजान भएको व्यक्तिलाई भने पीडित नभए पनि तोकेको संख्या भन्दा धेरै दिएको खवासले गुनासो गरे । उनले राहतमा राजनीति समेत भएको गुनासो गर्दै भने, ‘ कुनै राजनीतिक पार्टी समर्थक होईन भने राहत पाउनै गाह्रो छ ।’

यस्तै बाढी पीडितको उद्धार तथा राहत वितरणमा जुटेका स्थानिय पार्टीहरुले आफ्नो समर्थकलाई मात्रै राहत लक्षित गरेको पीडितहरुको गुनासो छ । स्थानीय निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिले समेत आफ्नो समर्थक र भोटरलाई मात्रै भटाभट राहत वितरण गरेको उनीहरुको गुनासो छ । सुनसरीको इटहरीका एक स्थानीयले भने, ‘राहत आफ्ना मान्छेहरुलाई खातैखात हुने गरी वितरण गरिएको छ तर जसको पहुँच छैन उनीहरु चुपचाप पीडा सहँदै बस्नुपरेको छ।’