अमेरिकामाथि ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण गर्ने प्योङयाङको पनि चेतावनी

उत्तर कोरियाले अमेरिकालाई कुनै पनि वेला आक्रमण गर्ने चेतावनी दिएको छ । दक्षिण कोरिया र अमेरिकाको सेनाले संयुक्त सैनिक अभ्यास तयारी गरिररहेकै वेला उत्तर कोरियाले सो चेतावनी दिएको हो । सोलमा दक्षिण कोरिया र अमेरिकाका सेनाले दैनिक संयुक्त अभ्यास गर्छन् । तीन साताअघि उत्तर कोरियाले अमेरिकी भूभाग गुआममा हमला गर्ने चेतावनी दिएको थियो ।

तर, अमेरिकामाथि हुने कुनै पनि आक्रमणले युद्धको स्वरूप लिने वासिङ्टनले चेतावनी दिएपछि प्योङयाङले आफ्नो योजना समीक्षा गरेको बताएको थियो ।

आणविक युद्धमा धकेल्दै छ अमेरिका

अमेरिका र दक्षिण कोरियाका आणविक गतिविधि अनियन्त्रित ढंगले आणविक युद्धतर्फ धकेल्ने बहाना भएको उत्तर कोरियाले आरोप लगाएको छ । उत्तर कोरियाली सेनाले अमेरिकाको जुनसुकै भूमिमा हमला गर्न सक्ने प्योङयाङले दाबी गरेको छ ।

‘उत्तर कोरियाले गुआम, हवाई वा अमेरिकी मूख्य भूमि मात्र होइन, जुनसुकै स्थानमा क्रुर आक्रमण गर्न सक्छ,’ उत्तर कोरियाको सरकारी समाचार पत्रिकाले जनाएको छ । वासिङ्टन र सोलको संयुक्त सैनिक अभ्यासले कोरियाली प्रायद्वीपको आगोमा घ्यू थपेको उत्तर कोरियाले टिप्पणी गरेको छ ।

सैन्य अभ्यास रोकिँदैन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले दक्षिण कोरियासँग हुन लागेको सैन्य अभ्यास नरोकिने बताएको छ । १० दिने अभ्यास सोमबारदेखि सुरु भएको छ । ‘कोरियाली चेतावनीले अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यास रोकिँदैन,’ ह्वाइटहाउसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सो वार्षिक सैन्य अभ्यासले प्योङयाङलाई क्रुद्ध बनाएको छ । सो अभ्यास कोरियाली प्रायद्वीपमा अमेरिकी सेनाले अतिक्रमण गर्ने बहाना भएको प्योङयाङले दाबी गरेको छ ।

सैन्य आक्रमणका लागि तयार

यसअघि अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन र रक्षामन्त्री जेम्स म्याटिसले उत्तर कोरियाली समस्या समाधानका लागि अमेरिकाले सैन्य कारबाही गर्ने बताएका थिए । कूटनीतिक दबाबबाट प्योङयाङको उत्तेजक आणविक गतिविधि नरोकिए सैन्य कारबाही गर्ने अमेरिकाले तयारी गरेको उनीहरूले बताएका हुन् । उत्तर कोरियाले आफ्नो लक्ष्मणरेखा पार गरेमा अमेरिकाले सैन्य कारबाही गर्ने म्याटिसले चेतावनी दिएका छन् । ‘उत्तर कोरियाले शत्रुतापूर्ण व्यवहारलाई निरन्तरता दिए अमेरिकी सैन्य गठबन्धनले उत्तर कोरियामामाथि हमला गर्छ,’ सिनमुनले भने ।

जुनसुकै स्थानबाट आक्रमण गर्न सक्ने

उत्तर कोरियाका वरिष्ठ नेता सिनमुनले कोरियाली प्रायद्वीपमा अमेरिका र दक्षिण कोरियाको सैन्य अभ्यासले यस क्षेत्रमा आणविक युद्ध अनियन्त्रित चरणतर्फ धकेलिइरहेको जनाएका छन् । उत्तर कोरियाले जुनसुकै स्थानबाट अमेरिकाविरुद्ध अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण गर्न सक्ने धम्की पनि दिएको छ । ‘कोरियाको जनसेना जतिवेला पनि उच्च सतर्कताका साथ रहेको छ । शत्रुहरूलाई तह लगाउन जुनसुकै वेला तयार छ । आफ्नो रक्षाका लागि उत्तर कोरियाली सेना कडा कदम चाल्न तयार छ,’ सिनमुनले भने ।

अमेरिका र उत्तर कोरियाबीच बढ्दो तनाव

पछिल्लो साता अमेरिका र उत्तर कोरियाबीचको तनाव चुलिएको छ । गत साता मात्र उत्तर कोरियाले प्रशान्त महासागरस्थित अमेरिकी भूमि गुआममा चारवटा क्षेप्यास्त्र प्रहार गर्ने चेतावनी दिएको थियो । तर, क्षेप्यास्त्र प्रहार गर्ने निर्देशन दिनुअघि उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी कदमको मूल्यांकन गरिरहेको उत्तर कोरियाली समाचार संस्था केसिएनएले जनाएको थियो । ‘क्षेप्यास्त्र प्रहार गर्नुअघि किम जोङ उनले अमेरिकी नागरिकको मूर्ख आचरण अवलोकन गर्ने,’ उत्तर कोरियाले जनाएको थियो ।