कसरी धान्छन् छोइकुले परिवार खर्च ? सडकमा लाग्यो करेन्ट

तिमाल गाउँका ३० बर्षीय छोइकु तामाङले राजधानीको सडकमा हिँडिरहँदा बिनागल्ती घाइते हुनुपर्ला भनेर साचेकै थिएनन् । तर, सडकमै करेन्ट लागेर उनी घाइते भए । आजको नागरिकमा यो खबर छ ।

 

लैनचौरस्थित स्काउट कार्यालयअघिको सडकमा एकाबिहानै हिडिरहेका उनलाई करेन्ट लागेको थियो । विद्युत पोलबाट चुँडिएर भुइँमा लत्रिएको तारमा बगेको करेन्ट लागेपछि उनी एकाएक ढल्न पुगे ।

उनको दुवै खुट्टादेखि माथिसम्मको भाग जलेको छ । उपचारपछि उनी अहिले घरमै आराम गरिरहेका छन् । उनको घाउ पूर्णरुपमा निको हुन बर्षदिन लाग्ने चिकित्सकले बताए ।

उनको उपचार खर्च विद्युत प्राधिकरणले बेहोर्ने सहमति भएको छ । मजदुरी गर्दै आएका तामाङ डेरामा बस्छन् । कमाएको पैसाले परिवारको खर्च धान्थे । तर अहिले उनको कमाइ रोकिएको छ । पत्नी गर्भवती छिन् । अब खर्च कसरी जुटाउने भन्ने उनलाई पिरलो थपिएको छ ।