बाँकेमा बाढीबाट ४८ हजार प्रभावित

बाँकेमा ४७ हजार ४ सय १० जना बाढी तथा डुवानबाट प्रभावित भएका छन् । प्रारम्भिक तथ्यांक अनुसार ९ हजार ४ सय २ घरधुरीका ४७ हजार ४ सय १० जना मानिसहरू बाढी तथा डुवानबाट प्रत्यक्ष–अप्रत्यक्ष प्रभावित भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी खगेन्द्र पौडेलले दिएको जानकारी अनुसार बाढी र डुवानका कारण २ सय ७ घरधुरीका १ हजार ३ सय ९० जना घरबारबिहीन भएका छन् । बाँकेमा डुवान तथा बाढीबाट प्रभावितहरूको उद्वार गर्ने कार्य सकिएको तथा राहत वितरण गर्ने कार्य भने हाल तिव्र गतिमा भैरहेको पनि सूचना अधिकारी पौडेलले बताए ।

बाढीका कारण जिल्लामा ८ सय ५३ घर पूर्ण रुपमा क्षति भएका छन् भने ३ वटा घरमा आंशिक क्षति पुगेको छ । बाढी तथा डुवानबाट प्रभावित ४ हजार ६४ जनालाई विभिन्न स्थानमा खडा गरिएका २६ वटा सेल्टरमा राखिएको पौडेलले जानकारी दिए ।

स्थलमार्गबाट राहत पु¥याउन नसकिने बाढी प्रभावित ठाउँहरूमा नेपाली सेनाको हेलिकप्टर मार्फत राहत वितरण कार्य भैरहेको छ । जिल्लाको फत्तेपुर, गंगापुर, नरैनापुर, होलीया, कटकुइया लगायतका बाढीपीडितका लागि हेलिकोप्टरमार्फत चिनी, चाउचाउ, भुजा, दालमोट, पानी लगायतका राहत साम्रगी पठाउने कार्य जारी छ । जिल्लामा विभिन्न संघसंस्थाहरूले राहत संकलन गरेर बाढीबाट प्रभावितहरूलाई वितरण गरिरहेका छन् । नेपालगन्ज र कोहलपुरमा रहेका अधिकांश संघसंस्थाले राहात संकलन गरिरहेका छन् ।

पूर्व पश्चिम राजमार्गमा बाढीले बगाएका तीन वटा पक्की पुलहरू मर्मत गरिएपछि यातायातका साधनहरू नियमित भएका छन् । राजमार्गका बाँकेमा पर्ने गन्धेली, परुवा र गाभर खोलामा निर्मित पक्की पुल शुक्रबार राती आएको बाढीले बगाएपछि सयौं सवारी साधान र यात्रीहरू बाटोमा नै अलपत्र परेका थिए । तर, कालिका कन्सट्रक्सनले ती तीनवटै पुलहरू सेना र प्रहरीको सहयोगमा मर्मत सम्भार गरेपछि यातायात सुचारु भएको बाँकेका प्रहरी प्रमुख टेक बहादुर तामाङले बताए ।