बाडी पिडितकाे पीडा : मन्त्री हेरेर गए, धुर्मुसले राहत बाँडे

अविरल वर्षापछि आएको बाढीबाट महोत्तरीमा तीनजनाको मृत्यु भएको छ । जलेश्वर–२ खैराचोकका १५ वर्षीय विक्की ठाकुर, धनुषा घर भई जलेश्वर–८ बजराहीमा छोरीको घरमा आएका ६५ वर्षीय शिव महरा र लोहारपट्टी–१ का इन्दल महराको मृत्यु भएको प्रहरी उपरीक्षक कुवेर कडायतले जानकारी दिए । उनका अनुसार जिल्लामा तीनजनाको मृत्यु, तीन सय ४७ जना पूर्ण रूपमा क्षतिग्रस्त र १ सय ३० भन्दा बढी घर डुबानमा परेका छन् । वर्षा हुन छाडेपछि पानीको मात्रा घट्न थाले पनि पीडितहरू घर फर्कन सकेका छैनन् ।

राहत वितरण

धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले भंगहा गाउँका बाढीपीडितलाई राहत वितरण गरेका छन् । बर्दिवासमा एकीकृत नमुना मुसहर बस्ती निर्माण गरेका धुमुसले मधेसको पीडा बुझेर सकेको राहत सामग्री वितरण गरेको बताए । राहत पाएपछि पीडितहरूले खुसी व्यक्त गरेका छन् ।

मन्त्री हेरेर मात्र गए

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले महेन्द्र आदर्श महिला माविमा आश्रय लिएर बढेका बाढीपीडितको निरीक्षण गरेका छन् । मन्त्रीको हेलिकोप्टर सदरमुकाम जलेश्वरको आकाशमा घुमिरहँदा राहत आएको आशासहित हेलिकोप्टर अवतरण गरेको स्थानसम्म पुगेका बाढीपीडित राहतभन्दा पनि आश्वासन मात्र पाएपछि खिन्न मन पार्दै फर्केका थिए । मन्त्री आउने र अस्पतालसमेत निरीक्षण गर्ने आशामा पुगेका जलेश्वर अस्पतालका स्वास्थ्यकर्मीहरू समेत मन्त्री नगएपछि निराश भएर फर्केका थिए । नयाँ पत्रिकाबाट