युद्धबाट बच्न डोक्लामबाट तुरुन्त हट,भारतीय सेनालाई चिनियाँ सैनिकको कडा चेतावनी

चिनियाँ जनमुक्ति सेनाका वरिष्ठ कर्णेल ली लीले डोकलाममा तनावबाट बच्नका लागि चिनियाँ भूमि डोकलामबाट हट्न भारतीय सेनालाई चेतावनी दिएका छन् । भारत, चीन र भुटानबीचको त्रिदेशीय सीमा क्षेत्र डोक्लाममा भारत र चीनबीच लामो समयदेखि तनाव जारी रहेका बेला चिनियाँ जनमुक्ति सेनाले कडा शब्दमा सो क्षेत्रबाट हट्न भारतीय सेनालाई चेतावनी दिएको हो ।दुई दिनअघि मात्रै चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सको अनलाइनले चीनले भारतीय सेनालाई डोक्लामबाट फिर्ता गराउनका लागि सानो प्रकारको सैन्य अपरेशनको तयारी गरेको एक सुरक्षा विश्लेषणलाई उद्धृत गर्दै समाचार प्रकाशित गरेको थियो ।चिनियाँ सेनाका कर्णेलले भनेका छन्, ‘भारतीय सेनाले जे गरिरहेको छ, त्यो चिनियाँ जमिनमाथिको हमला हो ।’

बेइजिङको बाहिरी इलाकाको भ्रमणमा रहेका भारतीय पत्रकारलाई उनले सो कुरा बताएका हुन् । उनले भनेका छन्, ‘चिनियाँ जनसेनाले जे सोचिरहेको छ, त्यसबारेमा रिपोर्टिङ गर्न सक्नुहुन्छ । म एक सैनिक हुँ र राष्ट्रिय अखण्डताको सुरक्षाका लागि सबैथोक गर्न कोशिस गर्नेछु भन्ने संकल्प छ ।’ यही यात्राका क्रममा भारतीय पत्रकारलाई चिनियाँ सेनाको कौशल समेत देखाएको थियो ।चीन र भुटानले आ–आफ्नो दाबी गर्दै आएको डोक्लाम क्षेत्रमा भारतीय सेना चीनले निर्माण गरिरहेको सडकको काम अवरुद्ध गर्न पुगेपछि तनाव उत्पन्न भएको थियो । सुरुमा सो क्षेत्रमा भारतले करिब ४ सय सेना तैनाथ गरेको भएपनि चीनले कडा प्रतिक्रिया दिएपछि संख्या घटाएको बताइएको छ ।

यद्यपि सो क्षेत्रमा अझै पनि बुल्डोजरसहित ५० भन्दा बढी भारतीय सैनिक तैनाथ रहेको बताइएको छ ।चीनले डोक्लाम क्षेत्रमा चिनियाँ सेनाले के गर्छ भन्ने कुरा भारतीय पक्षको गतिविधिमा निर्भर रहने बताउँदै आएको छ । चिनियाँ सेनाका ती कर्णेलले आफूहरु चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ राष्ट्रपति सी जिनपिङको अध्यक्षतामा २३ लाख सैनिकले केन्द्रीय सैन्य आयोगको आदेशको पालना गर्ने जनाएका छन् । उनको कमाण्डमा रहेको छाउनीमा मात्रै करिब ११ हजार सैनिक रहेका छन् ।यसैबीच चाइना डेलीले एक लेख प्रकाशित गर्दै सीमा क्षेत्रमा भारतको घुसपैठपछि गलत भूरणनीतिक आँकलन रहेको जनाएको छ ।