भारतीय सेनाका जर्नेललाई चिनियाँ कर्णेलको कडा चेतावनी

युद्ध नचाहेको भए पछि हट्नुस्

एक चिनियाँ टेलिभिजन शोमा भारतीय सेनाका सेवानिवृत्त मेजर जनरल अशोक मेहता र चिनियाँ विदेश मन्त्रालयको ‘सेन्टर फर  इन्टरनेसनल सेक्युरिटी कोअपरेसन’का निर्देशक कर्णेल झाओ बोबीच दोक्लम विवादलाई लिएर तातो बहस भएको छ।

दुवै अधिकारीलाई दोक्लम विवादबारे बोल्न मंगलबार चिनियाँ टेलिभिजन सिजिटिएनले निम्त्याएको थियो। पहिले बोल्ने पालो पाएका मेहताले चीनले आफ्नो देशमा भारतविरोधी भावना भड्काएको आरोप लगाएका थिए। ‘चिनियाँ मिडिया, थिंक ट्यांक, सिन्ह्वा, ग्लोबल टाइम्स, पिएलए डेलीजस्ताले सबैभन्दा आक्रमक र भड्किलो अभिव्यक्ति दिएका छन्।भारतलाई युद्धमा पछार्ने, दुईतिर युद्ध सुरु गर्ने र भारतलाई पाठ बढाउने कुरा गरेका छन्। भारतमा यस्तो खालको भाषा प्रयोग हुँदैन,’ मेहताले भने।

त्यसपछि टिभी प्रस्तोताले युद्धपिपासु देखिने कुनै आलेखलाई प्रमाणको रुपमा प्रस्तुत गर्न अनुरोध गरेका थिए। मेहताले त्यस्तो कुनै प्रमाण त दिएनन् बरु उनले समग्रमा चिनियाँ मिडियाको धारणा त्यस्तो भएको आरोप लगाए। ‘म सेनाबाट १९९१ मा सेवानिवृत्त भएको हुँ। त्यसयता म टिभीमा आइराखेको छु, स्तम्भ लेख्छु, दर्जनौँ पत्रिका पढ्छु। चीनमा त भारतीय सुरक्षा सल्लाहकार अजित डोभललाई पनि षड्यन्त्रकारीको संज्ञा दिइयो।’

त्यसैबीचमा कर्णेल झाओले हस्तक्षेप गरेका थिए। ‘जनरल तपाईंले धेरै बोलिसक्नुभयो!’ झाओले भने, यो संवाद अघि बढाउने तरिका यो होइन। मलाई केही सेकेण्ड बोल्न दिनुहोस्। तपार्इं चिनियाँ भूमिमा हुनुहुन्छ, त्यसैले युद्ध चाहनुहुन्न भने त्यहाँबाट निस्किनुपर्ने हुन्छ।’ उनले दोक्लाममा भुटानले पनि भारतलाई ननिम्त्याएको स्पष्ट पारेका थिए।