किम जोङ भन्छन- अमेरिकाको जुनसुकै भू-भागमा पनि ध्वस्त पार्न सक्छौं

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ्ग उनले अाफ्नो देशले पछिल्लो पटक परीक्षण गरेको ब्यालिस्टिक क्षेप्यास्त्रले अमेरिका ध्वस्त हुन सक्ने बताएका छन् । अमेरिकालाई नै निशाना बनाएर उक्त क्षेप्यास्त्र तयार गरिएको दाबी समेत गरे ।उत्तर कोरियाली संचारमाध्यमका अनुसार नेता किम जोङ्‍गले भने, ‘यो क्षेप्यास्त्रको सफल परीक्षणले अब पुरा अमेरिका हाम्रो निशानामा रहने प्रमाणित भएको छ ।’
पछिल्लो पटक परीक्षण क्षेप्यास्त्रले करिब ४७ मिनेटसम्म आफ्नो गति कायम राखेको थियो । यो क्षेप्यास्त्र ३ हजार ७ सय २४ किलोमिटर माथिसम्म पुगेको उत्तर कोरियाली संचारमाध्यमहरुले बताएका छन् ।

उत्तर कोरियाको सरकारी समाचार समितिले भनेको छ, ‘देशका सर्वोच्च नेताले अब अमेरिका पूर्ण रुपमा उत्तर कोरियाको निशानामा रहेको प्रतिक्रिया दिनु भएको छ ।’अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण गरिएको विषयमाथि प्रतिक्रिया जनाउँदै ‘निकै लापरवाहीपूर्ण र खतरनाक कदम’ भनेका छन् ।

उक्त क्षेप्यास्त्र परीक्षणको केही मिनेटमै अमेरिका, जापान र दक्षिण कोरियाले यसको लोकेशन, रेन्ज र फ्लाइट टाइमबारे जानकारी सार्वजनिक गरेका थिए । तर कसैले पनि यसको विस्तृत विवरण भने दिएका छैनन् ।