पाकिस्तानका प्रधानमन्त्री शरिफ बर्खास्त, नयाँ प्रधानमन्त्रीमा शहबाजको संभावना

पानामा पेपर्समा दोषी देखाउँदै पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज सरिफलाई प्रधानमन्त्रीका लागि अयोग्य ठहर गरेको छ । उनलाई विदेशमा कालो धन जम्मा गरेको आरोपमा दोषी ठहर गरिएको पाकिस्तानी पत्रिका डनले जनाएको छ ।अदालतले सार्वजनिक पदका लागि अयोग्य ठहर गरेलगत्तै पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले पदबाट राजीनामा दिएका छन् ।

बीबीसीका अनुसार अदालतको यो आदेश सन् २०१५ मा खोज पत्रकारहरुको समुहले सार्वजनिक गरेको पानामा पेपर्समा उल्लेख भएअनुसार सरिफका परिवारका सदस्यको अफसोर कम्पनीमा भएको सम्पतिबारे गरिएको अनुसन्धान पछि आएको हो । उनले त्यस आरोपको निरन्तर रुपमा अस्वीकार गर्दै आएका थिए ।

यो आदेश सर्वोच्च अदालतको पाँच जना न्यायाधीशहरुको बेत्र्चले सर्वसम्मत रुपमा गरेको हो । यो सुनुवाइ प्रक्रियामा पाँचमध्ये तीन जना न्यायाधीशले निर्णय प्रक्रियाको निगरानीको जिम्मेवारी पनि पाएका थिए। इजलासका दुई न्यायाधीशले पहिले पनि सरिफलाई प्रधानमन्त्रीका लागि अयोग्य भएको फैसला गरेका थिए।

शुक्रबार उक्त आदेशका बेला अदालत भरिभराउ थियो भने राजधानी सहरमा दशौं हजार सुरक्षा फौज तैनाथी गरिएको थियो । रोयटर्सका अनुसार एक जना न्यायाधीश इजव अफजल खानले भने, ‘नवाज सरिफ संसदको इमान्दार सदस्यको रुपमा रहेनन् ।’ यस भ्रष्टाचार काण्डमा सरिफकी छोरी मर्यम, ज्वाई सफ्दर, अर्थमन्त्री इक्कदर र अरु पनि व्यक्तिहरु मुछिएका छन् ।

नवाज शरीफ पाकिस्तानको तीन पटकसम्म प्रधानमन्त्री बनिसकेका छन् । सैनिक शासक परवेज मुशर्रफले तत्कालीन प्रधानमन्त्री शरीफलाई अपदस्थ गरेर शासन सत्ता हातमा लिएपछि शरीफले देश नै छाड्नुपरेको थियो ।

नयाँ प्रधानमन्त्रीमा शहबाज

नवाज अयोग्य ठहर भएपछी पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा उनका भाई शहबाजको संभावना देखिएको छ । यद्यपि शहबाजले त्यसका लागि चुनावको सामना गर्नुपर्ने समय आए ४५ दिनसम्म पाकिस्तानी रक्षामन्त्री ख्वाजा असिफले अन्तरिम प्रधानमन्त्रीका रुपमा कार्यभार सम्हाल्ने छन् ।

खानदानको सम्पत्ति जाँच गर्ने ज्वाइन्ट इन्भेष्टिगेसन टीम (जेआईटी)को रिपोर्टमा शरीफ, उनकी छोरी र छोरी ज्वाइँ समेत दोषि ठहरिए पनि भाइ शाहबाज भने दोषमुक्त छन् ।पाकिस्तानी राजनीतिमा दाजु नवाज शरीफको भन्दा शाहबाज शरीफ अब्बल रहेको बताइन्छ ।

मुस्लिम लीगका नेताहरुका अनुसार पूर्व सैनिक शासक परवेज मुशर्रफले शाहबाज शरीफलाई प्रधानमन्त्री बनाउन लविङ गरेका थिए । त्यसपछि शाहबाजले राहील शरीफसँग पनि छलफल चलाएका थिए ।