इरानद्वारा रकेट प्रक्षेपण, अमेरिकी प्रतिवन्धलाई चुनाैती..

एजेन्सी,इरानले उपग्रहको अन्तरिक्ष कक्षमा स्थापित गर्न सक्षम एक रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ । इरानले उत्तरी इरानको सेमनानस्थित नयाँ अन्तरिक्ष केन्द्रबाट फिनिक्स रकेटको प्रक्षेपण गरिएको दाबी गरेको हो । सन् २००९ देखि हालसम्म इरानले पाँच वटा रकेटको प्रक्षेपण गरिसकेको छ ।

इरानको सरकारी टेलिभिजन च्यानलले जनाएअनुसार यो रकेटले २५० किलोग्रामको स्याटेलाइटलाई ५ सय किलोमिटरको उचाइसम्म लिएर जान सक्छ ।इरानले रकेट प्रक्षेपण गरेकोप्रति अमेरिकाले भने आपत्ति जनाएको छ । अमेरिकाले इरानको कदमले आफूलाई उत्तेजित पारेको जनाएको छ ।

अमेरिकाका विदेश मन्त्रालयका प्रवक्ता हिदर नाएर्तले इरानले रकेट प्रक्षेपण गरेको पुष्टि भएमा संयुक्त राष्ट्र संघको प्रस्तावको उल्लंघन हुने बताए । इरानले भने अमेरिकाले लगाएको प्रतिबन्धको जवाफ दिएको जनाएको छ ।