मुम्बईमा पाँच तले भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो

भारतको आर्थिक राजधानी मुम्बईमा मङ्गलबार एक पाँच तले भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । १९ जनालाई घाइते अवस्थामा बाहिर निकालिएको थियो । घटनामा अझै केही व्यक्ति फसेको बताइएको छ । उनीहरूको उद्दारका लागि आवश्यक प्रयास जारी राखिएको छ ।

स्थानीयका अनुसार भत्किएको भवन करिब ३५ वर्ष पुरानो र जिर्ण थियो । लगातारको वर्षाका कारण भवनमा भारी असर परेको बताइएको छ । अग्नी नियन्त्रक कार्यायलका एक अधिकारी पि रहाङदेलका अनुसार यस घटनाको उद्वारकार्य लगातार जारी रहेको र करिब तीन दर्जन व्यक्ति अझै भवन भग्नावशेषमा पुरिएका छन् ।

यस घटनामा उद्वार गरिएका सवैजनालाई उपचारको लागि अस्पताल भर्ना गरिएको छ । भारतीय भौतिक संरचना निर्माण विज्ञले भवन बनाउने क्रममा भवन निर्माण नियमलाई पालना नगरी गुणात्मक सामग्रीको प्रयोग नहुँदा, निर्माणका क्रममा आवश्यक निरीक्षणको अभाव लगायतका कारण भवन भत्किएको जनाएका छन् । सन् २०१३ मा पनि मुम्बईमा कानूनी प्रावधान नपु-याइकन निर्माण भएको एक भवन भत्किँदा ७४ व्यक्तिको मृत्यु भएको थियो ।