यस्ताे थियाे जंगबहादुरले भूमिगत जीवन विताएको मन्दिर……

नकुटाको महालक्ष्मी नगरपालिका लेगुवास्थित नागेश्वर दुग्धनाथ महादेव मन्दिर जीर्ण बन्दै गएको छ । धार्मिक आस्थासँगै नेपालको इतिहास जोडिएको यो मन्दिर सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा जीर्ण बन्दै गएको हो ।

अरुण पूर्व एकीकरणका क्रममा स्थापना गरिएको धनकुटाको लेगुवास्थित नागेश्वर दुग्धनाथ महादेव मन्दिर जीर्ण बन्दै गएको छ । पूर्वी एकीकरणको जिम्मा पाएका जंगबहादुर राणाका जिजुबाजे काजी रामकृष्ण कुँवर र धनसिंह खड्काले तत्कालिन श्री पाँचको आदेशमा नेपाल उपत्यका र बिजयपुर क्षेत्रबाट सिपालु कालीगढ झिकाइ १८४१ सालमा यो मन्दिर निर्माण गरेका हुन् ।

कलात्मक प्यागोडा शैलीमा निर्माण गरिएको यो मन्दिरमा त्यस बेलाका गुणस्तरयुक्त इँटा र बिभिन्न प्रकारका कला प्रयोग भएका छन् । मन्दिर निर्माणताका दुई मिटर अग्लो सुनको गजुर मन्दिरमा लगाइएको थियो ।तत्कालीन राजा गिर्वाणयुद्धविक्रम शाहले यो मन्दिरलाई एघार धार्नीको घण्टा चढाएका थिए ।

तर सुरक्षा अभावका कारण पञ्चायतकालमा सुनको गजुर र घण्टासहित बहुमुल्य बस्तु हराइसकेको इतिहासविद् गोपाल भण्डारी बताउँछन् । १८९४ सालमा रणजंग पाण्डेको उदय भएपछि थापा खलकसहित जंगबहादुर राणाका पिता बालनरसिँह कुँवरको सर्वस्वहरण भएपछि २० बर्षको उमेर हुँदा जंगबहादुरले भूमिगत जीवन अन्तर्गतको केही समय यहाँ बिताइएको बताइन्छ । पछि जंगबहादुर प्रधानमन्त्री भएपछि लेगुवा आई थप पूर्वाधार निर्माण गरेका थिए ।

सो क्रममा १०८ खुड्कीला भएको सिढी, साधुसन्तका लागि पाटीपौवा, ईनार, पोखरी, पोखरीको उत्तरतर्फ भिमसेन मन्दिर, पश्चिममा सरस्वती मन्दिर, दक्षिणमा नागमन्दिर स्थापना गरेका थिए ।

यो बाहेक वाजागाजा राख्ने घर, १०८ साधुका लागि पाक घर र बार्षिक ११०० मुरी उढाउने ब्यवस्था मिलाइदिएको इतिहासविद् भण्डारीले संकलन गरेको दस्तावेजमा उल्लेख छ । यहाँका केही संरचना १९९० सालको भूकम्पले समेत भत्काएको थियो । त्यसयता पुनर्निर्माण र मर्मतमा चासो नदिईंदा मन्दिर जीर्ण बनेको हो । अहिले यो मन्दिरमा सामान्य पूजाआजा गर्नसमेत समस्या हुने गरेको छ ।

धनकुटाकै पहिचान र इतिहास बोकेको यो मन्दिरको जीर्णोद्वार र व्यवस्थापनमा सरकारी पक्षले बेवास्ता गर्दा बेबारिसे बन्दै गएको स्थानीयको गुनासो छ । नागेश्वर महादेव मन्दिरलगायतका सम्पदाको जिर्णोद्वार, विकास र प्रचार-प्रसार गरी पर्यटक भित्राउन सके लेगुवाको मुहार फेरिनेमा दुईमत छैन ।