यसरी बर्सेनि बल्झिरहन्छ तिलाठी बासिन्दाको घाउ

सप्तरी,वर्षा लाग्नासाथ तिलाठीवासीको निद्रा खोसिन्छ। सप्तरीमा टण्टलापुर घाम लागे पनि तिलाठी नदीको मुहान चुरे क्षेत्रमा वर्षा हुँदा बाढीको भय हुने गर्छ। तिलाठी क्षेत्र हरेक वर्ष डुबानमा पर्दै आएको छ। बाढीबाट बर्सेनि ठूलो क्षति हुन्छ। सरकारले केही राहत दिने घोषणा पनि गर्छ तर स्थायी समाधान कहिल्यै हुँदैन।

थोरै–थोरै राहतभन्दा स्थायी रूपमै बाढी रोक्ने उपाय गरिदिन तिलाठीवासीले सरकारसँग माग गरेका छन्। ‘औषधोपचार र खानेकुरा किन्न दैनिक बजार निस्कनुपर्छ’, स्थानीय सीतादेवी यादवले भनिन्, ‘बाढी आएका बेला कसरी जानु?’ अर्का स्थानीय विनोदकुमार यादवले यो समस्या वर्षौं पहिलेदेखि रहेको भन्दै सरकारले वास्ता नगरेको गुनासो गरे। ‘अब यसको स्थायी समाधान चाहियो’, उनले भने।तिलाठी डुब्नुको एउटै कारण हो, खाँडो नदी।

भारतीय पक्षले बहाव रोक्ने प्रयास गरेपछि यो नदी नेपाली भूमि हुँदै दक्षिण भेगतिर बग्छ। भारतीय पक्षले बाँध बाँधेर खाँडोको पुरानो बहाव परिवर्तन गरेपछि तिलाठी डुब्न थालेको हो। यसको स्थायी समाधानका लागि दुई देश (भारत र नेपाल) बीच तिलाठीलाई भलुवाही खोलामा खसालेर बहाव नियन्त्रण गर्ने सहमति भएको थियो। सन् २०१४ मा दुवै देशका प्राविधिकले संयुक्त रूपमा सर्भे गरेर काम अघि बढाउने सम्झौता भए पनि अहिलेसम्म काम हुन सकेको छैन ।

यसको मार यहाँका जनताले खेप्दै आएका हुन्। अघिल्लो वर्ष पनि तिलाठीको दसगजा क्षेत्रमा भारतीय पक्षले पुनः बाँध बाँध्ने प्रयास गरेपछि नेपाली पक्षले त्यसको प्रतिकार गरेका थिए, जसमा केही नेपाली घाइतेसमेत भएका थिए। चुरेदेखि नेपालको २५ किलोमिटर दूरी तय गर्ने खाँडो नदी आसपासका जनताको टाउको दुखाइ बनेको छ। यसको नियन्त्रणका लागि चुरेदेखि तिलाठीसम्म बाँध बाँध्नुपर्ने आवश्यकता छ। काम अघि बढे पनि सम्पन्न हुन सकेको छैन। बाँध बाँधेर नेपाली भूमि डुबान हुनबाट जोगाउन बर्सेनि करोडौं रकम खर्च हुने गरेको छ। तर, न यहाँको समस्या समाधान भएको छ न त नागरिकको त्रास नै हट्न सकेको छ।