यी हुन् धेरैपटक विदेश भ्रमण जाने सचिव
प्रधानमन्त्री कार्यालयका कानुनसचिव राजीव गौतम पटक–पटक विदेश भ्रमण गर्ने सचिवमा पर्छन्। केही समयअघि विदेशबाट फर्किएका उनी पुनः विदेश जाने सूचीमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ। खासगरी प्राविधिक मन्त्रालयका सचिव, सहसचिवहरू सबैभन्दा बढी विदेश भ्रमणमा जाने गरेका छन्।
परराष्ट्र मन्त्रालयका अधिकारीहरू सरकारी कामकै सिलसिलामा बढी विदेश जाने गरेका छन्। जसअनुसार धेरैपटक विदेश जानेमा परराष्ट्रसचिव शंकरदास बैरागी पहिलो सूचीमै पर्छन्। श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मण मैनाली, वाणिज्यसचिव ङइन्द्रप्रसाद उपाध्याय, वनसचिव प्रकाश माथेमा, कृषि विकाससचिव सुरोज पोख्रेल, सिँचाइसचिव रामानन्दप्रसाद यादव पटक–पटक विदेश भ्रमणमा गइरहनेमा पर्छन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
पर्यटन मन्त्रालयबाट मात्रै विभिन्न समूह गरी ३७ कर्मचारी विदेशमा छन्। म्यान्मारमा मात्रै विभिन्न मन्त्रालयका ९२ जना कर्मचारी रहेको स्रोतले जानकारी दिएको छ। स्थानीय तहको निर्वाचनका कारण केही समय कर्मचारीलाई विदेश भ्रमणमा रोक लगाइएको थियो। निर्वाचन आचारसंहिता खुलेलगत्तै दर्जनौँ कर्मचारी एकैपटक विदेश उडेका हुन्।
१५ जेठदेखि असार मसान्तसम्मको समय विकास निर्माणका कार्य गर्ने र विभिन्न योजना सक्ने समय हो। ‘आर्थिक वर्षको अन्त्यमा विदेश जाने परम्परा बढ्दै जान थालेको छ, यसलाई समयमै नरोक्ने हो भने गम्भीर खालका समस्या आउन सक्छ,’ एक सहसचिवले भने। आपूर्ति मन्त्रालयका सचिव प्रेमकुमार राई आर्थिक वर्षको अन्त्यमा जथाभावी विदेश जाने क्रम बढेको र यसले ठुल्ठूला विकृति निम्ताउन सक्ने बताउँछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस्तो विकृति रोक्नुपर्ने उनले बताए।
को–को जाँदै छन् ?
डा. युवकध्वज जिसी, पशुपक्षी विकाससचिव
रामानन्दप्रसाद यादव, सिँचाइसचिव
ङइन्द्रप्रसाद उपाध्याय, वाणिज्यसचिव
डा. सुरज पोख्रेल, कृषिसचिव (हाल स्विट्जरल्यान्ड)
रामकुमार आचार्य, प्रधानमन्त्री कार्यालयका सचिव (हाल विदेशमा)
शंकरप्रसाद कोइराला, उद्योगसचिव (भर्खरै स्वदेश फिर्ता)
एकैपल्ट १२ उच्च अधिकारीको विदेश भ्रमण स्वीकृत
गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका सचिव तथा राष्ट्रिय योजना आयोगका पदाधिकारीसहित १२ जनाको विदेश भ्रमण एकैपल्ट स्वीकृत गरेको थियो। तर, सो निर्णयलाई गोप्य राखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ। राष्ट्रिय योजना आयोगका केही पदाधिकारी र केही सचिवसहित १२ उच्चपदस्थ कर्मचारीलाई भ्रमणको स्वीकृति दिइएको हो।
पशुपक्षी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जिसी, सिँचाइसचिव रामानन्दप्रसाद यादव, वाणिज्यसचिव ङइन्द्रप्रसाद उपाध्याय विदेश भ्रमणमा जाने तयारीमा छन्। कृषिसचिव डा. सुरज पोखरेल भने स्विट्जरल्यान्ड उडिसकेका छन्। उनीस“ग मन्त्रालयका १० कर्मचारीको समूह छ। उद्योगसचिव शंकरप्रसाद कोइराला भर्खरै विदेशबाट फर्किएका छन्। उनीसँगै मन्त्रालयका केही सहसचिवसमेत विदेश गएका थिए। उद्योग मन्त्रालयका केही सहसचिवलगायतका कर्मचारी हाल विदेशमै छन्।