पाकिस्तानद्वारा भारतीय अधिकारीसँग सोधपुछ

पाकिस्तानले भारतीय पक्षले सीमा क्षेत्रमा गोली चलाउँदा दुई पाकिस्तानी नागरिकको ज्यान गएको भनी यसबारे सोधपुछ तथा विरोध जनाउन भारतीय अधिकारीलाई बोलाइएको इस्लामावादले शनिबार जनाएको छ ।

यसअघि पाकिस्तानी सेनाले कास्मिर क्षेत्रमा रहेको भारत–पाकिस्तानको अन्तर्राष्ट्रिय सिमारेखाभित्र भारतीय सेनाको गोली लागी दुई पाकिस्तानी नागरिकको ज्यान गएको जनाएको थियो । पाकिस्तानको विदेश मन्त्रालयका दक्षिण एसियाली शाखाका महानिर्देशक मोहम्मद फैसलले भारतीय उप उच्च आयुक्त जेपी सिंहलाई बोलाएर सीमा क्षेत्रमा भएको उक्त घटनाको निन्दा गर्नुभएको पाकिस्तानी पक्षले जनाएको छ ।  कास्मिरको चिरीकोट र सतवाल खण्डमा शनिबार बिहान भएको युद्धविराम उल्लङ्घनको घटनाले हिंसा भड्काउन सक्ने भनी भारतीय अधिकारी सिंहलाई जनाइएको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

भारतीय पक्षको गोली लागी सतवालका २२ वर्षीय एक युवती र टेट्रीका एक युवकको ज्यान गएको र तीनजना अन्य घाइते भएका जनाइएको छ । “जानाजान पाकिस्तानी सर्वसाधारणमाथिको आक्रमण मानवीय प्रतिष्ठामाथि तथा अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको उल्लङ्घन भएको छ” – पाकिस्तानले भेटका क्रममा भारतीय अधिकारीलाई जानकारी गरायो ।

पाकिस्तान र भारतले सीमा क्षेत्रमा तनाव कम गर्न सन् २००३ देखि युद्धविरामको घोषणा गरेका छन् तर दुवैले बेलाबखत युद्धविराम उल्लङ्घन गरेको भनी अरोप लगाउँदै आएका छन् । महानिर्देशक फैसलले युद्धविरामको सम्मान गर्न र शनिबार तथा अन्य विभिन्न समयमा भारतीय पक्षबाट भएका उल्लङ्घनका घटनालाई अनुसन्धान गरी सीमा क्षेत्रमा सम्झौताअनुरूप शान्ति कायम गर्न आग्रह गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

फैसलले संयुक्त राष्ट्रसङ्घ सैनिक अनुगमन समूहलाई राष्ट्रसङ्घ सुरक्षा परिषद् सङ्कल्प प्रस्ताव बमोजिम अनुगमनका लागि अनुमति दिन भारतीय पक्षसँग जोडदार माग राखेको बताउनुभयो । भारत–पाकिस्तानको सीमा क्षेत्रमा गत वर्ष सेप्टेम्बरमा भारतीय पक्षबाट १९ जना सैनिक मारिएपछि यस क्षेत्रमा पटक पटक तनाव उत्पन्न हुँदै आएको छ ।