चलचित्रमा उतारिँदै रुपचन्द्र विष्ट, यसै वर्ष प्रदर्शन हुने

काठमाडाैँ,दार्शनिक राजनीतिज्ञ रुपचन्द्र विष्टको जीवनमा आधारित चलचित्र ‘रुदाने : विद्रोहको नेपाली नाम’को फष्ट लुक सार्वजनिक गरिएको छ । विष्टको १८औँ स्मृति दिवसको अवसरमा बुधबार फष्ट लुक सार्वजनिक गरिएको हो । चलचित्रमा रुपचन्द्र विष्टको सिंगो जीवन र थाहा दर्शनका विविध पाटा समेटिएको निर्माण पक्षले जानकारी दिएको छ । रुदानेको लेखन अमितकिशोर सुवेदी र विकास ढकालले संयुक्त रूपमा गरेका छन् । दावनल क्रियशनले थाहा यात्रासँगको सहकार्यमा निर्माण गरेको चलचित्रका निर्मार्ता जागृत रायमाझी छन् ।

चलचित्रमा विष्टको भूमिकामा दिव्यदेवले अभिनय गरेका छन् भने नम्रता श्रेष्ठ, रवि गिरी, सुभास गजुरेल, अमर सुवेदी, सरोज अर्याललगायत एक सयभन्दा बढी कलाकारको पनि अभिनय छ । चलचित्रमा बलिउडका सान्ता राओको छायांकन, निमेष श्रेष्ठको सम्पादन र जेशन कुँवरको संगीत रहेको छ ।

निर्देशकद्वयले चार वर्षसम्म विष्टमाथि गहिरो अध्ययन अनुसन्धान गरी चलचित्र तयार पारेका हुन् । रुदाने यसै वर्षभित्र प्रदर्शनमा ल्याउने गरी अन्तिम चरणको सुटिङ भइरहेको निर्माण पक्षले जनाएको छ । जीवनीमा आधारित चलचित्र कमै मात्र बन्ने नेपालमा आफू रुपचन्द्रको शिष्य भएको र धेरै हिसाबले रुपचन्द्रको जीवनसँग पनि जोडिएकाले यो फिल्म बनाउन तम्सिएको निर्माता रायमाझीको भनाइ छ । पुरानो पुस्ताले बिर्सिसकेका र नयाँ पुस्तामाझ किंबदन्ती बनेका विष्टको जीवन र थाहा दर्शनसँग सम्बन्धित अनेकौँ पाटा फिल्ममार्फत् उजागर गर्ने प्रयास गरिएको निर्देशकहरूले बताएका छन् ।

मकवानपुरलाई कर्मभूमि बनाई जनमुखि राजनीतिमार्फत सम्पूर्ण जीवन जनता जगाउने काममा समर्पित गरेका विष्ट नेपालको इतिहासमा कहीँ कतै पनि दर्ज नभएको नाम हो । २०४०को दशकमा देशमा लोकप्रियताको शिखरमा रहेका विष्टले प्रतिपादन गरेको थाहा दर्शन आज पनि उत्तिकै सान्दर्भिक छ ।