यार्सागुम्बा टिप्न गएका काँग्रेस–एमाले कार्यकर्ताबीच झडप, चार घाइते

 डोल्पाको ठूलीभेरी नगरपालिकास्थित रुपपानी यार्सागुम्बा पाटनमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ । गत शुक्रबार राति यार्सागुम्बा पाटनमै भएको झडपमा परेर दुवैतर्फका चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
घाइते हुनेमा तेजेन्द्र कार्की, जुना रोकाय, अंगत रोकाय र नरेन्द्र रोकाय रहेको प्रहरी कार्यालयले जनाएको छ ।

डोल्पाको ठुलीभेरी नगरपालिकास्थित रुपपानी यार्सागुम्बा पाटन । यही स्थानमा एमाले र माकेका कार्यकर्ताबीच झडप भएको हो । वर्षेनी यार्सा टिप्न यहाँबाट उच्च भेगतर्फ सर्वसाधारण जाने गर्छन्

एमाले कार्यकर्ता जुना रोकाय, अंगत रोकाय तथा नरेन्द्र रोकायको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहको बताइएको छ । पाटनमा गएका वेला राति मादकपदार्थ सेवन गरेर राजनीतिक विषय जोड्दै विवाद सुरु गरेपछि झडपको स्थिति सिर्जना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

झडपमा परी घाइते भएका माओवादी केन्द्रका वाइसिएल कार्यकर्ता तेजेन्द्र कार्की । हाल उनको काठमाडौंस्थित वीर अस्पतालमा उपचार भइरहेको छ ।

माओवादी केन्द्र निकट वाइसियल कार्यकर्ता तेजेन्द्र कार्कीको अवस्था गम्भीर छ । उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको माओवादी केन्द्र डोल्पाका जिल्ला इञ्चार्ज रामलाल विकले जानकारी दिए । घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।