भारतसंगको सम्बन्ध आपसी सहयोग र साझेदारीमा आधारित हुनुपर्नेमा सि जिनपिङ्ले जोड

काठमाडाैँ,चीन र भारतबीचको सम्बन्ध आपसी सहयोग र साझेदारीमा आधारित हुनुपर्नेमा चिनियाँ राष्ट्रपति सि जिनपिङ्ले जोड दिएका छन् । कजाकिस्तानको अस्तानामा शुक्रबार चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको द्विपक्षीय वार्तापछि राष्ट्रपति सीले यस्तो धारणा राखेका हुन् ।

विश्वका दुई ठूला विकासशील देश भारत र चीनले आपसी सहयोग, समन्वय र साझेदारीका आधारमा अघि बढ्ने विश्वास सो भेटमा व्यक्त गरेको समाचारमा जनाइएको छ ।कजाकिस्तानको अस्तानामा सुरु भएको साङ्घाई कोअपरेशन अर्गनाइजेसनको १७औँ सम्मेलनमा सहभागी हुन त्यहाँ पुगेका दुई नेताबीच शुक्रबार बिहान भेटवार्ता भएको हो । सो भेटका क्रममा चिनियाँ राष्ट्रपति सीले भारतसँग मिलेर काम गर्न, थप लगानीको दायरा बढाउन र राजनीतिक विश्वासको वातावरण थप बढाउन आफू तयार रहेको बताए ।

बैठकमा चिनियाँ राष्ट्रपतिले चीनले थप राजनीतिक विश्वासको वातावरण निर्माण गर्न, थप उच्चस्तरीय सहयोग र साझेदारीका क्षेत्रहरुको पहिचान गर्न तथा व्यापार र लगानीका अवसरहरु खोज्न पनि आग्रह गरेका थिए । उनले भारतसँग विकासका प्रयासलाई दुई देशले एकसाथ अघि बढाउन र क्षेत्रीय सडक सञ्जालको विकास गर्न आवश्यक पहल सुरु गर्नुपर्नेमा पनि सो भेटमा जोड दिएका थिए । उक्त सम्मेलनमा सहभागिताका लागि विश्वका अरु देशका पनि सरकार तथा राज्य प्रमुखहरु अस्तानामा जम्मा भएका छन् ।