अमेरिकी डलरसहित १९ वर्षीया युवती जुवाखालबाट पक्राउ

काठमाडौं, क्यासिनाेहरुमा कडाइ गरिएपछि अहिले बिभिन्न ठाउँमा गुपचुपमा जुवाघरहरु संचालन भइरहेका छन् । यसैबीच त्यस्तै अवैध रुपमा चलाइएकाे एक जुवाघरबाट एक युवतीसहित २४ जना पक्राउ परेका छन् । पक्राउ पर्ने युवतीका बारेमा बुझ्दा धेरैले अाश्चर्य व्यक्त गर्ने अवस्था छ । ललितपुरको सानेपास्थित एक जुवाघरबाट पक्राउ परेकी युवती मात्र १९ वर्षकी छन् । १९ वर्षकी युवती त्यसरी कसरी जुवाघरमा पेशेवर जुवाडे बनिन भन्ने धेरैकाे जिज्ञासा छ । जुवाखालबाट समातिएकी युवती मनिषा परियार हुन् ।

काभ्रेपलाञ्चोकको पर्सेल स्थायी घर भएकी परियार काठमाडौंको भिमसेनस्थान बस्दै आएकाे बताउँछिन । उनीसँगै साे जुवाखालबाट अन्य ९ जना महिला पनि पक्राउ परेका छन् । उनीहरुकाे सानेपाकाे खरिबोटमा रहेकाे एक घरबाट पक्राउ परेका हुन् । उक्त घरमा ‘क्यारियर डेलभपमेन्ट ट्रेनिङ्ग ईन्स्टिच्युट एण्ड चारकोल लज एण्ड बार’ नामक बोर्ड राखिएकाे छ । साे घरमा शुक्रवार केन्द्रिय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले छापा मार्दा जुवा चलिरहेकाे थियाे ।

सिअाइबीले त्यहाँ भेटिएका २४ जनालार्इ नै नियन्त्रणमा लिएकाे हाे । पक्राउ पर्नेहरु मध्ये केही भारतिय नागरीक रहेका छन् । भारतीय नागरिक हितेश डालमिया र अभिशेख अग्रवालसहित काठमाडौंका प्रवेश भुसाल, उपेन्द्र राज चित्रकार, सुवाष श्रेष्ठ, सिन्धुपाल्चोककी विमला श्रेष्ठ, काठमाडौंकी बिन्दु महर्जन, रौतहटकी सम्झना तिमल्सिना, काठमाडौंकी रेश्मा महर्जन, काभ्रेकी मनिषा परियार, चितवनकी शुसिला लामा, फर्पिङकी अनिता पौडेल, पाल्पाकी सरिता श्रेष्ठ पक्राउ परेकाे सिअाइबीले जनाएकाे छ । त्यसैगरी जुवाखालबाट पुष्पराज खतिवडा, बावुराम पौडेल, नारायण कुमार कुँवर, लाल बहादुर मगर, कपील नागपाल, संघ रत्न महर्जन, शैलेष खड्का, किरण घले, तारा रिजाल शर्मा, गुप्त केसी र शिवम गुप्ता समेतलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागी महानगरीय प्रहरी परिसर लतिलपुरमा पठाईएको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ ।

प्रहरीले जुवाखालबाट ७ लाख ५० हजार नगद, १८६ अमेरिकी डलर, चिनीया यान १ सय र पाँच सय रुपैयाँ भारतिय रुपैयाँ बरामद गरेको छ ।