श्रृङ्खलावद्ध विष्फोटले मतदानकेन्द्र असुरक्षित

काठमाडाैँ,  शुक्रबार बिहानै भक्तपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताको घर अगाडि सिलिण्डर बम विस्फोट हुँदा काठमाडौंसम्म आवाज सुनिएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित राप्रपाका नेता माधव खत्रीको घर नजिकै सडकमा शुक्रबार विहान ३ बजे सिलिण्डर बम विस्फोट भएको हो ।

बम विस्फोटबाट खत्रीको घरको सिसा फुट्नुकासाथै कम्पाउण्डको पर्खाल समेत ढलेको छ । बलमे खत्रीको घरसँगै रहेको ओम प्रधानको घरमा पनि क्षति पुर्‍याएको छ । शक्तिशाली सिलिण्डर बम विस्फाट हुँदा करीब एक किलोमिटर वरिपरि चर्को आवाज आउनुकासाथै ठूलो कम्पन भएको थियो । बम विस्फोटपछि घटनास्थलमा स्थानीयको भीड लागेको थियो भने ३ः३० बजे प्रहरी घटनास्थल पुगेको थियो ।

हाल नेपाल प्रहरीसहित सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगिसकेको छ । बम विस्फोट कस्ले गराएको भन्ने पुष्टि भइ नसकेको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यसैगरि विहिबार साँझ कालिका नगरपालिकाको भिमोदय मतदान केन्द्र र रत्न नगर नगरपालिकाको द्धारीका मतदान केन्द्रमा शक्तिशाली वम विष्फोट भएका छन् ।

रत्न नगर नगरपालिकाकै टाँडीबजार र खोले सीमलमा बम विष्फोटको आवाज सुनिएको स्थानियले बताएका छन् । उता सुर्खेतको लेकफर्सा र मैनतडा मतदान केन्द्र नजिकै विहिवार साँझ शक्तिशाली बम विष्फोट भएको सुर्खेतबाट सुमन पौडेलले जनाएका छन् । यद्यपि अहिलेसम्म भएका वम विष्फोटको आधिकारीक र औपचारिक जिम्मेवारी कसैले लिएको छैन । मतदान केन्द्र आसपास भइरहेका श्रृङ्खलावद्ध बम विष्फोटले मतदान केन्द्रहरु असुरक्षित वनेका छन् भने मतदाताहरुमा त्रास वढेको छ ।