कालीगण्डकी करिडोरको ट्र्याक असारभित्रै खुल्ने

गुल्मी ,गैंडाकोटबाट कोरला जोड्ने कालीगण्डकी करिडोरको ट्र्याक असारभित्रै खुल्ने भएको छ । धुसा भीर, बागखोर भीर, बेलबगर भीर, डाँडाकाल भीर र कुचुरे भीर गरी ७ किलोमिटरको अत्यन्तै अप्ठ्यारो काम सकेपछि चालू आर्थिक वर्षभित्रै ट्र्याक जोडिने भएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

नेपाली सेनाले टाकुरेदेखि पालुङखोलासम्मको २३ किलोमिटर सडकको काम पनि द्रुत गतिमा गरिरहेको छ । ठाउँठाउँमा गरी करिब १६ किलोमिटर सडकको ट्र्याक खोल्ने काम सकिएको छ । कालीगण्डकी करिडोर सडक निर्माण कार्यदलका प्रमुखसमेत रहेका महासेनानी रेश्मीराज भट्टराईले पाँचवटा कठिन भीर फोरेपछि कालीगण्डकी करिडोरको पूरै ट्र्याक खोलिने बताए ।

संसद्को विकास समितिले नेपाली सेनाको सहकार्यमा गुल्मीको बरालवादेखि पालुङखोला हुँदै बागलुङको धुसा भीरसम्मको आइतबार स्थलगत अवलोकन गरेको थियो । भट्टराईले भने, ‘सेना द्रुतगतिमा खटिएको छ । ७ किलोमिटर मात्र बाँकी रहेकाले यसै आवमा ट्र्याक खोलिसक्ने लक्ष्यमा छौं ।’