यस्तो थियो नेपालमा राणाकालमै भएको पहिलो निर्वाचन

नेपालमा निर्वाचनको इतिहास वि.सं. २००४ को स्थानीय निर्वाचनबाट सुरु भएको थियो । काठमाडौं म्युनिसिपालिटीको नाममा २००४ जेठ ३ गते तत्कालीन राणा प्रधानमन्त्री पद्मशमशेरले निर्वाचन गराएका थिए । निर्वाचनबाट गेहेन्द्रशमशेर थापा म्युनिसिपालिटीको पहिलो सभापति भएका थिए ।

 त्यतिवेलाको निर्वाचनमा करिब ६५ प्रतिशत मत खसेको अनुमान गरिएको छ । महिलालाई भने मत हाल्ने अधिकार दिइएको थिएन । २१ वर्ष पुगेका पुरुषलाई मात्रै मतदान गर्न पाउने अधिकार थियो ।
त्यतिवेला म्युनिसिपालिटीमा १३,५५३ घरधुरी र ६८,११८ मतदाता थिए । २१ वटा वडामध्ये सबैभन्दा धेरै मतदाता भएको ११ नम्बर वडामा ९३६ घरधुरी र ६,६०३ मतदाता थिए । सबैभन्दा सानो १८ नम्बर वडामा २०९ घरधुरीमा ४४२ जना मतदाता थिए । वडा नं. २१ बाट निर्विरोध निर्वाचित भएका भुवनलाल प्रधान नेपालका पहिलो जननिर्वाचित प्रतिनिधि हुन् ।
मतदातालाई प्रधानमन्त्री पद्मशमशेरको आदेश थियो, ‘तिमीहरूको मद्दतको निमित्त खटिएका कर्मचारीहरूको रेखदेखमा नगरपालिकाको काम गर्न सक्ने तिमीहरूको प्रतीतको असल, लायक, अनुभवी, प्रतिनिधि छानी पठाउने काम गर ।’

तर, पहिलो निर्वाचित समितिमा भाँडभैलो

२१ वडाबाट निर्वाचित २१ जना र सरकारले मनोनीत गरेका १० जना मिलाएर म्युनिसिपालिटी बोर्ड गठन भएको थियो । तर, मनोनीतहरूसँग विवाद भएपछि निर्वाचित २१ मध्ये १६ जना सदस्यहरूले राजीनामा दिएका थिए । रिक्त स्थानमा उपचुनाव गराउने घोषणा भए पनि वडामा उम्मेदवार नै तयार नहुँदा निर्वाचन हुन सकेन । वडाहरूबाट निर्वाचित र मनोनीत गरी १५ जना पदाधिकारी भने २००७ सालको आन्दोलनसम्म नगरपालिकामा कार्यरत थिए ।

२०१० मा पहिलोपटक महिलालाई मताधिकार

००७ सालमा प्रजातन्त्र आएपछि १७ भदौ ०१० मा काठमाडौं नगरपालिकाको निर्वाचन भएको थियो । तर, यसपालि २१ वडालाई घटाएर १८ वटा बनाइएको थियो । साथै काठमाडौं म्युनिसिपालिटीको नाम परिवर्तन गरी काठमाडौं नगरपालिका पनि यसै वेला भएको हो ।
२१ वर्ष उमेर पुगेकाहरूको गोप्य मतदानद्वारा निर्वाचन भएको थियो । यो निर्वाचनमा महिलाले पहिलोपटक मतदान गर्ने अधिकार पाएका थिए । साथै महिला प्रतिनिधि पनि निर्वाचित भएका थिए । ५ वटा दलले निर्वाचनमा भाग लिएका थिए भने स्वतन्त्र पनि उम्मेदवार भएका थिए । त्यतिवेला १८ पदका लागि ७३ जनाले उम्मेदवारी दिएका थिए ।
काठमाडौंको वडा नम्बर ८ बाट ४ हजार ११३ मत खसेकोमा २ हजार ४५५ मत ल्याएर साधनादेवी प्रधान पहिलो महिला जनप्रतिनिधि बनेकी थिइन् ।

२०१४ मा सभापति कांग्रेस, उपसभापति कम्युनिस्ट

प्रत्येक ४ वर्षमा नगरपालिकाको निर्वाचन गर्ने व्यवस्थाअनुसार काठमाडौं नगरपालिकाको अर्को निर्वाचन २०१४ माघ ७ मा भएको थियो । निर्वाचनमा नगरपालिकाका १८ वडा सदस्यका लागि ४९ जनाले उम्मेदवारी दिएका थिए ।
निर्वाचनबाट नगरपालिका सभापतिमा कांग्रेसबाट प्रयागराजसिंह सुवाल र उपसभापतिमा नेपाल कम्युनिस्ट पार्टीका कृष्णलाल श्रेष्ठ चुनिएका थिए ।

०१८ को निर्वाचनमा हात उठाएर मतदान

१ पुस ०१७ मा तत्कालीन राजा महेन्द्रले पञ्चायती व्यवस्था सुरु गरेपछि ०१८ फागुन ७ गते गाउँ पञ्चायतको निर्वाचन गराएका थिए । गाउँसभाभित्रका वडाबाट छानिएका सदस्यबाट प्रधानपञ्च र उपप्रधानपञ्च छान्ने व्यवस्था थियो । गाउँसभालाई ९ वटा वडामा विभाजन गरिएको थियो । निर्वाचन गर्न ४ लाख रुपैयाँ खर्च भएको थियो ।
मतदातालाई मत दिने ठाउँको कोठामा लगेर ढोका बन्द गरी उम्मेदवारको नाम क्रमशः भन्दै हात उठाउन लगाइन्थ्यो । मत दिइसकेको मतदातालाई क्रमशः बाहिर पठाउँदै प्रत्येक उम्मेदवारको पक्षमा उठेको हातको गणनाका आधारमा विजयी घोषणा गरिन्थ्यो ।

०१९ मा अञ्चल पञ्चायतको पनि निर्वाचन

१० हजारभन्दा बढी जनसंख्या भएकोे नगरमा नगर पञ्चायतको स्थापना गर्न सक्ने व्यवस्थाअनुसार ०१९ मा नगर पञ्चायतको निर्वाचन गरिएको थियो । निर्वाचन आयोगले गराएको यो पहिलो निर्वाचनमा उम्मेदवारले ५० रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था थियो भने उम्मेदवारले चाहेको निर्वाचन चिह्न उपलब्ध गराउने व्यवस्था पनि थियो । सोही वर्ष जिल्ला पञ्चायतको निर्वाचन पनि भएको थियो । यो निर्वाचन गोप्य मतदानबाट सभापति, उपसभापति र ९ जना सदस्य गरी ११ जनाको कार्यकारिणी समितिको निर्वाचन भएको थियो । साथै, यसै वर्ष अञ्चल पञ्चायत निर्वाचन पनि भएको थियो । अञ्चलभित्रका जिल्ला पञ्चायतका सदस्यहरू स्वतः सदस्य बन्ने व्यवस्था थियो । सभापति, उपसभापति र ९ जना सदस्य हुने गरी अञ्चल पञ्चायत गठनको व्यवस्था थियो ।

०२० मा उम्मेदवारलाई निर्वाचन रङ

यसपालि निर्वाचन हुनु दुई दिनअघि उम्मेदवारलाई रङ रोजाइएको थियो । उम्मेदवारको रोजाइअनुसार गोप्य कोठामा थरीथरीका मतपेटिका राखिएको थियो । मतदाताहरू भित्र गएर आफूले रोजेको उम्मेदवारको रङको बाक्सामा मत खसाल्थे । जसको बाक्सामा धेरै मत हुन्थे उही उम्मेदवार विजयी घोषित हुने व्यवस्था थियो । नयाँ पत्रिकाबाट