खाग पनि नक्कली

काठमाडौं,  प्रहरी र निकुञ्ज कार्यालयको सक्रियतामा करिब चार वर्षयता नेपालमा गैँडाको खागको चोरी सिकार ठप्प छ । तर, ‘खाग’ कारोबार भने भइरहेको छ । त्यस्ता ‘खाग’ दुर्लभ वन्यजन्तु गैँडाको खाग नभई भैँसीको सिंग र हड्डीबाट बनेको हो । पैसा कमाउन केही समूहले नक्कली खाग बनाएर बिक्री गर्दै आएको प्रहरीले जनाएको छ । त्यस्तो एक समूहलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार पक्राउ गरेको छ ।

 काभ्रे बल्थली घर भई ललितपुर बस्ने शक्ति घिमिरेले मेसिनबाटै नक्कली खाग बनाई बिक्री गर्दै आएका हुन् । घिमिरेसहित मकवानपुरका सोमबहादुर सिंगर र अनिलबहादुर लामालाई सिआइबीले पक्राउ गरेको हो । उनीहरूबाट एउटा नक्कली खाग तथा नक्कली खाग बनाउने मेसिन बरामद गरिएको सिआइबीकी एसपी मीरा चौधरीले बताइन् ।
सक्कली खाग ५०-६० लाख रुपैयाँसम्म अवैध कारोबार हुने गर्दछ । सोही कुरा थाहा पाएर आफूले ठ्याक्कै सक्कली जस्तै देखिने नक्कली खाग बनाउन थालेको घिमिरेले बताएका छन् । भैँसीको सिंग तथा हड्डीहरू मिलाएर उनले सक्कलीजस्तै खाग बनाउँदै आएको सिआइबीका डिएसपी प्रवीण पोखरेलले बताए ।नयाँ पत्रिकामा खबर छ ।

नेपालमा खागकै लागि गैँडा मारिँदै आएका थिए । यसमा ठूला आपराधिक गिरोहसमेत संलग्न हुँदै आएकोमा राष्ट्रिय निकुञ्ज तथा नेपाल प्रहरीको सिआइबीले विशेष अभियान चलाई गैँडाको चोरी सिकारमा संलग्न गिरोहलाई पक्राउ गरेपछि रोकिएको हो । यद्यपि यो वर्ष सिकारीको आक्रमणबाट एउटा तथा करेन्ट लागेर दुईवटा गैँडाको मृत्यु भइसकेको छ ।
सिकारीले एउटा गैँडा मारेपछि खाग भने चोर्न पाएनन् । गैँडाको संरक्षणमा नेपालको सफलतालाई अन्तर्राष्ट्रिय रूपमा प्रशंसा हुँदै आएको छ । नक्कली खाग बनाएर बेच्नेहरू पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार दोषी हुने भएकाले उनीहरूलाई पक्राउ गरी प्रहरीले जिल्ला वन कार्यालय ललितपुरमा बुझाएको छ ।