भारतीय राजदूतलाई कालो झन्डा

काठमाडौं, निर्माण सम्पन्न नभई हुलाकी राजमार्ग उद्घाटन गरिएको भन्दै कैलालीका स्थानीय बासिन्दाले भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक र भारतीय राजदूत रन्जित रेलाई कालो झन्डा देखाएका छन् ।

आजको नागरिक दैनिकमा खबर छ– कैलाली जिल्लाको हुलाकी राजमार्गको १८ किलोमिटर सडक र ६ वटा पुल निर्माण हुन बाँकी रहेपनि मन्त्री लेखक र राजदूत रेले बिहीबार संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

स्थानीयको चर्को नाराबाजीका बीच धनगढीको क्याम्पसचोकमा राजमार्ग उद्घाटन गरिएको हो । राजदूत रेलाई एमाले र जनमोर्चाका कार्यकर्ताले कार्यक्रम स्थलमै कालो झन्डा ओढाएका थिए । कार्यक्रममा नेपाल र भारतको राष्ट्रिय गान गाइएको थियो । भारतीय राष्ट्रिय गान गाउने क्रममा प्रदर्शनकारीले मञ्चतर्फ कुर्सी फालेका थिए ।