आइएस लडाकु नै एसियाको गम्भीर चुनौती

के हाेला यसकाे सामाधान ?

काठमाडौं, एसियाका उच्च सुरक्षा अधिकारीले आतंकवादी समूह इस्लामिक स्टेट (आइएस)मा आबद्ध १५ हजार विदेशी लडाकु एसियाली देशको प्रमुख सुरक्षा चुनौती भएको औँल्याएका छन् । द्वन्द्वग्रस्त स्थानहरूबाट लखेटिँदै जाँदा विदेशी लडाकुहरू एसियाका अन्य देशमा जान सक्ने र त्यहीँबाट आतंकवादी गतिविधिमा संलग्न हुन सक्ने उनीहरूको चिन्ता छ ।

काठमाडौंमा बुधबारदेखि सुरुभएको अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को २३औँ एसिया क्षेत्रीय सम्मेलनको १५ हजार लडाकुले निम्त्याउन सक्ने सुरक्षा जोखिमलाई छलफलको प्रमुख विषय बनाइएको छ । त्यस्ता १५ हजार विदेशी आइएस लडाकुबारे सूचना दिई पक्राउ गर्न एक–अर्का देशबीच सहकार्यलगायतका विषयमा सम्मेलनमा छलफल हुने भएको छ । भारतसँगको खुला सिमानाका कारण नेपाल पनि आतंकवादको जोखिममा रहेको सम्मेलनका सहभागी विभिन्न देशका सुरक्षा अधिकारीले बताएका छन् । आतंकवादीहरूले सेल्टरका रूपमा नेपाललाई प्रयोग गर्न सक्ने भन्दै अध्यागमन र सीमामा विशेष सतर्कता अपनाउन उनीहरूले सुझाब दिएका छन् ।

आतंकवादसम्बन्धी घटनाको अनुसन्धान गर्ने नेपाल प्रहरीको विशेष ब्युरोका डिआइजी बमबहादुर भण्डारीले पनि खुला सिमानाका कारण आतंकवादी गतिविधिमा संलग्नहरूले नेपालको भूमि दुरुपयोग गर्न सक्ने जोखिम रहेको बताए । नेपाललाई भन्दा नेपालमा रहेका अरू देशका नागरिक र दूतावासहरूलाई कुनै आतंकवादी समूहले आफ्नो ‘टार्गेड’ बनाउन सक्ने भएकाले यसमा विशेष सतर्कता अपनाउनुपर्ने विभिन्न देशका सुरक्षा अधिकारीको भनाइ छ । पछिल्लो समय दक्षिण एसियामा आतंकवादी समूह सक्रिय हु“दै गएकाले नेपालमा पनि जोखिम बढ्दै गएको उनीहरूको तर्क छ ।

काठमाडौंमा बुधबार सुरु भएको सम्मेलन तीन दिनसम्म चल्नेछ । सम्मेलनमा एसियाका ३३ देशका एक सय ३२ प्रतिनिधि सहभागी छन् । आतंकवाद र संगठित अपराधका अनुसन्धानमा एक–अर्का देशको अनुभव आदानप्रदान र सहकार्य नै सम्मेलनको प्रमुख उदेश्य रहेको इन्टरपोलले जनाएको छ ।

सम्मेलनमा मानव बेचविखन, बालबालिकाविरुद्ध हुने अपराध, सीमा सुरक्षा तथा व्यवस्थापन, सीमावर्ती अपराधहरू, आतंकवाद, साइबर अपराध, वन्यजन्तुसम्बन्धी अपराधका विषयमा छलफल हुनेछ । कार्यक्रममा नेपाल प्रहरीका आइजिपी उपेन्द्रकान्त अर्यालले नेपालले मानव बेचबिखनविरुद्ध गरेको कारबाही र त्यसका समस्याबाट कार्यपत्र पेस गरेका थिए ।

सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोगले सुरक्षामा चुनौती : प्रधानमन्त्री

सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तरदेशीय अपराध नियन्त्रणका लागि सबै देशहरूबीच सहकार्य र सहयोगको आवश्यकता भएको बताएका छन् । नयाँ प्रविधिसँगै सुरक्षाका चुनौती पनि थपिँदै गएको बताउँदै उनले सबै देशका सामूहिक समस्या नियन्त्रणका लागि सामूहिक रूपमा सहकार्य गर्न जोड दिए ।

‘अज्ञात स्थानबाट कुनै अज्ञात व्यक्तिले गरेको क्लिकका भरमा अपराध हुन्छ,’ प्रचण्डले भने, ‘नयाँ प्रविधि र सामाजिक सञ्जालले टाढाबाट पनि निर्दोष व्यक्तिहरूमाथि गम्भीर अपराध गर्न सक्ने अवस्था छ ।’ सुरक्षा र विकास आपसमा गाँसिएको विषय भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले सुरक्षाविना विकास सम्भव नभएको बताए ।

‘आजको दिनमा कुनै पनि देश एक्लै आतंकवाद तथा संगठित अपराधविरुद्ध लड्न सक्दैनन्,’ उनले भने, ‘सबै देशको सहकार्यले मात्र हामी यसविरुद्ध लड्न सक्छौँ, यो सम्मेलनले साझा समस्या पहिल्याएर समाधानको उपाय निकाल्नेछ भन्ने मेरो विश्वास छ ।’ सम्मेलनमा हुने अनुभव र समाधानका उपायको आदानप्रदानबाट सबै देशले फाइदा लिने प्रधानमन्त्रीको भनाइ थियो । एसिया प्रान्तीय सम्मेलनका लागि नेपाललाई रोजेकोमा उनले इन्टरपोललाई धन्यवादसमेत दिए । नयाँपत्रिकाबाट