प्रचण्डले ‘खोलाले बगायो’ भनेका २९८५ थान हतियार जुम्लामा फेला परे

काठमाडौं,  युद्ध टुंग्याएर शान्ति प्रक्रियामा आएपछि हतियार भण्डारण गर्ने बेला माओवादी अध्यक्ष पुष्पकमल दाहालले हतियार खोलाले बगाएको वताएका थिए । तर, शान्ति सम्झौता भएको १० वर्षयता जुम्लामा माओवादी द्वन्द्वमा प्रयोग भएका २ हजार ९ सय ८५ थान हतियार प्रहरीले वरामद गरेको छ ।  जिल्ला प्रहरी कार्यालय जुम्लाले विस्तृत शान्ति सम्झौता भएयता ०६३ देखि ०७३ पुस पहिलो हप्तासम्म जिल्लाका विभिन्न गाउँमा बरामद गरेका अवैध हतियार पुस २७ गते सार्वजनिक गरेको हो ।

प्रहरीले यो अवधिमा सबै किसिमका गरी २ हजार ९ सय ८५ थान हतियारहरू बरामद गरेको एक कार्यक्रमका बिच सार्वजनिक गरेको हो । प्रहरीले बरामद गरेका हतियारहरूमा एम १६ राइफल दुई थान, एसएलआर राइफल १० थान, एसएमजी राइफल १६ थान, इन्सास राइफल दुई थान, सर्टगन आठ थान, वन बेल्ट राइफल १६ थान, मास्केट हतियार दुई थान, दुई इन्चको मोर्टार एक थान, हर्नेट सात थान, एयर गन २५ थान, जिएसटी क्यालिबर २३ थान, थ्रीनटथ्री राइफल ७३ थान, टुटु आठ थान, बाह्रबोर ७४ थान, म्याग्नम एक थान, भरूवा बन्दुक घरेलु हतियार ७ सय ८१ थान, पेस्तोल ४ सय ८४ थान, रिभल्वर १ सय १७ थान, थ्री फिप्टिन ५ थान र कटुवा पेस्तोल १ हजार ३ सय ३० थान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, जुम्लाका डिएसपी गुरूविष्णु काफ्लेका अनुसार केही भरूवा बन्दुक घरेलु अवैध हतियार भएपनि अन्य सबै अत्याधुनिक हतियार भने सशस्त्र द्वन्द्वपछि नै बरामद गरेको हुनाले अझै गाउँघरमा सशस्त्र द्वन्द्वमा प्रयोग भएका हातहतियार रहेको हुन सक्ने अनुमान रहेको छ । उनले भने–‘हामी गाउँबाट यस्ता अवैध हातहतियारहरू बरामद गर्ने क्रममा छौँ ।’विस्तृत शान्ति सम्झौता भएको १० वर्षपछिसम्म पनि उतिबेला प्रयोग गरिएका हातहतियारको प्रयोग गरी अपराधिक घटना हुने गरेको प्रहरीले जनाएको छ ।