इन्टरपोलको एसिया क्षेत्रीय सम्मेलन काठमाडाै‌मा

काठमाडौँ, २८ पुस । विश्वभरका प्रहरीको छाता सङ्गठनका रुपमा रहेको इन्टरपोलको २३ औँ एसिया क्षेत्रीय सम्मेलन आगामी माघ ५ देखि ७ गतेसम्म यहाँ हुने भएको छ ।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरी, अपराध अनुसन्धान विभागका प्रमुख विज्ञानराज शर्माले सम्मेलनमा नेपालले मानव बेचबिखनबारे कार्यपत्र प्रस्तुत तथा मानव बेचबिखन, बालबालिकाविरुद्ध हुने अपराध, सङ्गठित अपराध, सीमा सुरक्षा तथा व्यवस्थापन, सीमावर्ती अपराध, आतङ्कवाद, साइबर अपराध, वन्यजन्तुसम्बन्धी अपराधका विषयमा सम्मेलनमा छलफल हुने जानकारी दिनुभयो ।

सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका ५२ सदस्य मुलुक र तीन पर्यवेक्षक मुलुकका करिब २५० जनाभन्दा बढी कानुन कार्यान्वयन निकायका उच्च अधिकृत सहभागी हुनेछन् । क्षेत्रीय सम्मेलन प्रत्येक दुई वर्षमा हुन्छ । यसअघि नेपालले विसं २०४५ मा दसौँ एसिया क्षेत्रीय सम्मेलनको आयोजना काठमाडौँमा गरेको थियो ।