सम्झौताअनुसार थप खोप तत्काल नपठाउने सरकारलाई सिरमको पत्र
कोभिड–१९ प्रतिरोधात्मक खोप २० प्रतिशत नागरिकलाई निःशुल्क दिइसकेपछि मात्र आयात अनुमति दिने अडानबाट पछि हट्दै सरकारले निजी क्षेत्रलाई खोप ल्याउन खुला गरेको छ । भारतको सिरम इन्स्टिच्युट अफ इन्डियालाई भुक्तानी नै दिइसके पनि सम्झौताअनुसारको थप १० लाख डोज खोप तत्काल नपठाउने पत्रका साथै थप ५० लाख डोज खरिदको गृहकार्य अवरुद्ध र चीनबाट प्रतिबद्धता भएको अनुदानको खोप पनि ल्याउन ढिला भएपछि सरकारले निजी क्षेत्रलाई आयात खुला गरेको हो ।
औषधी व्यवस्था विभागले आइतबार सूचना जारी गर्दै अनुमतिका लागि इच्छुक जो कोही उत्पादक, कम्पनी, आधिकारिक आयातकर्ता वा उत्पादकले तोकेको आधिकारिक बिक्रेतालाई औषधि वा खोपको आपत्कालीन प्रयोगसम्बन्धी संहिता–२०७७ मा तोकिएका कागजातसहित ७ दिनभित्र आवेदन दिन भनेको छ । ‘खोपको एक्स फ्याक्ट्री मूल्य, ढुवानी, भण्डारण, सम्बन्धित मुलुकको कर, सेवा शुल्कसमेत विश्लेषण गरी मुनाफा बढीमा १० प्रतिशत कायम हुने गरी लागत विवरण पेस गर्नुपर्ने सूचनामा भनिएको छ ।आजकोकान्तिपुर दैनिकमा समाचार छ ।