कर्णालीमा डुबेको गाडीमा को–को थिए ? पाँच जनाको पहिचान खुल्यो

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरा क्षेत्रमा कर्णाली राजमार्गबाट कर्णाली नदीमा खसेर बेपत्ता भएको फोर्स गाडीमा चालकसहित पाँच जना सवार रहेको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार असार १८ गते बिहान करिब ११ः३० बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी करिब ४०० मिटर तल कर्णाली नदीमा खसेर डुबेको थियो।

प्रहरीले घटनास्थलबाट प्राप्त मोबाइल, प्रारम्भिक सोधपुछ तथा आफन्तबाट प्राप्त जानकारीका आधारमा गाडीमा चालक तुलाराम सुबेदी, सहचालक रामप्रसाद सुबेदी, सिर्जना खड्का, मेखे तिरुवा र जेखे तिरुवा सवार रहेको पहिचान भएको जनाएको छ।

दुर्घटनामा मृत्यु भएका जेखे तिरुवाको शव आफन्तले सनाखत गरिसकेका छन्। आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ।

घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको संयुक्त टोलीले खोज तथा उद्धार कार्य सुरु गरेको थियो। कर्णाली नदीको तीव्र बहाव र वर्षाका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको छ। सीमावर्ती जिल्लाका नदी तटीय क्षेत्रमा समेत समन्वयात्मक रूपमा खोजी जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गाडीमा थप यात्रु सवार थिए वा थिएनन् भन्ने विषयमा अझै अनुसन्धान भइरहेको छ। त्यसका लागि सम्बन्धित निकायसँग समन्वय गरी थप विवरण संकलन र खोजी कार्यलाई निरन्तरता दिइएको छ।