इजरायली आक्रमणपछि इरान आक्रोशित, शान्ति वार्ता अन्योलमा
तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको घोषणा गरेको केही घण्टामै इजरायलले लेबनानमाथि गरेको भीषण आक्रमणले पश्चिम एसियामा शान्ति प्रयासलाई संकटमा पारेको छ।

बुधबार इजरायली सैन्य विमानहरूले लेबनानका विभिन्न क्षेत्रमा आक्रमण गर्दा कम्तीमा २५४ जनाको ज्यान गएको र सयौँ घाइते भएका छन्। यसैबीच, इरानले अमेरिकासँग हुने भनिएको स्थायी शान्ति वार्तामा सहभागी हुनु ‘औचित्यहीन’ हुने चेतावनी दिएको छ।
इरानी संसदका सभामुख तथा मुख्य वार्ताकार मोहम्मद बगेर कलिबाफले इजरायलले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन्। उनका अनुसार इजरायल हिजबुल्लाहमाथि आक्रमण जारी राख्दै एकातिर तनाव बढाइरहेको छ भने अर्कोतर्फ अमेरिकाले इरानलाई आणविक कार्यक्रम त्याग्न दबाब दिँदै आएको छ, जुन शान्ति सम्झौतासँग मेल खाँदैन।
युद्धविरामको दायरामा अमेरिका, इजरायल र इरानबीच मतभेद स्पष्ट देखिएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र अमेरिकी उपराष्ट्रपति जेडी भान्सले दुई हप्ते युद्धविराम लेबनानमा लागू नहुने बताएका छन्। तर फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँससहित १३ युरोपेली देश, जापान र क्यानडाले इजरायली आक्रमणको भर्त्सना गर्दै लेबनानलाई पनि युद्धविराममा समेट्नुपर्ने माग गरेका छन्।
आणविक कार्यक्रमसम्बन्धी विवाद पनि कायमै छ। राष्ट्रपति ट्रम्पले इरान युरेनियम प्रवर्द्धन रोक्न सहमत भएको दाबी गरे भने इरानी पक्षले आफ्नो आणविक कार्यक्रम जारी राख्ने अडान दोहोर्याएको छ।
युद्धको प्रभाव विश्व बजारमा पनि देखिएको छ। तेलको मूल्यमा गिरावट आए पनि हर्मुज जलसन्धि र साउदी तेल पाइपलाइनमा अवरोधका कारण ऊर्जा आपूर्ति अस्थिर रहेको छ। इजरायलले आवश्यक परे पुनः आक्रमण गर्न सक्ने चेतावनी दिएका छन् भने हिजबुल्लाहले उत्तरी इजरायलमा रकेट प्रहार गरेको छ।
पाँच हप्तादेखि जारी द्वन्द्वमा दुवै पक्षले आफ्नो जित भएको दाबी गरे पनि मुख्य विवादहरू अझै समाधान हुन सकेका छैनन्। शान्ति प्रयास अस्थिर रहँदा पश्चिम एसियामा तनाव उच्च बनेको छ।


