इरान–अमेरिकाबीच उच्चस्तरीय वार्ता पाकिस्तानमा हुने

काठमाडौं, पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले अमेरिका–इरान युद्धविराम घोषणाको स्वागत गर्दै थप वार्ताका लागि आफ्नो देशमा आउन आह्वान गरेका छन्। सबै विवादहरू समाधान गर्न थप वार्ताका लागि अमेरिका र इरानको नेतृत्वलाई आफ्नो देशमा आउन उनले आमन्त्रित गरेका हुन्। ‘म यस विवेकपूर्ण इशारालाई हार्दिक स्वागत गर्दछु र दुवै देशको नेतृत्वप्रति गहिरो कृतज्ञता व्यक्त गर्दछु,’ शरीफले एक्समा लेखेका छन्।

उनका अनुसार अमेरिका र इरानबीच शुक्रबार अर्थात् अप्रिल १० मा इस्लामाबादमा वार्ता हुनेछ। ‘हामी इस्लामाबाद वार्ता दिगो शान्ति प्राप्त गर्न सफल हुने आशा गर्दछौं र आगामी दिनहरूमा थप राम्रो समाचार साझा गर्न चाहन्छौं,’ उनले लेखेका छन्।

पाकिस्तानले तेहरान र वाशिंगटनसँगको आफ्नो स्थिर सम्बन्धको फाइदा उठाउँदै द्वन्द्वमा शान्ति दूतको रूपमा आफूलाई स्थापित गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

पाकिस्तानको मध्यस्थतामा इरान र अमेरिका युद्धविरामको निष्कर्षमा पुगेका हुन्। यसलाई इरानले आफ्नो जितका रूपमा व्याख्या गरेको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानको राजधानी इस्लामाबादमा थप वार्ता हुने बताएको छ। मेहर समाचार एजेन्सीकाअनुसार युद्धविराम सहमति पाकिस्तानको मध्यस्थतामा भएको हो।

युद्धविराम सहमतिसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि २ साताका लागि हमला रोकेको घोषणा गरेका छन्। इरानले तुरुन्तै होर्मुज जलमार्ग खोल्ने सर्तमा दुई हप्ताको लागि बम विष्फोट र आक्रमण स्थगित गर्न सहमत भएको उनले उल्लेख गरेका छन्। यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको सभ्यता नै फेरि कहिल्यै नफर्किने गरी समाप्त पारिदिने धम्की दिएका थिए।