आर्टिमिस–२ ले तोड्यो मानव अन्तरिक्ष यात्राको दूरी कीर्तिमान
काठमाडौँ । आर्टिमिस–२ मिसनअन्तर्गत चार जना अन्तरिक्ष यात्रीले मानव इतिहासकै सबैभन्दा टाढाको अन्तरिक्ष यात्रा गर्दै नयाँ कीर्तिमान कायम गरेका छन् ।

अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार उक्त टोली पृथ्वीबाट करिब ४ लाख ६ हजार ७७१ किलोमिटर टाढासम्म पुगेको बीबीसीले जनाएको छ। यसअघि सन् १९७० मा अपोलो–१३ मिसनले करिब ४ लाख किलोमिटर दूरी पार गरेको थियो।
मिसनका क्रममा अन्तरिक्षयान चन्द्रमाको पछाडिबाट यात्रा गर्दा आज बिहान करिब ४० मिनेटसम्म पृथ्वीसँग सम्पर्क विच्छेद भएको थियो। त्यसपछि यान पुनः सम्पर्कमा आएको छ।
आर्टिमिस–२ ले चन्द्रमामा अवतरण नगरी त्यसको पछाडिबाट परिक्रमा गर्दै पृथ्वी फर्किने क्रममा विभिन्न वैज्ञानिक अवलोकन गरेको जनाएको छ। नासाका अनुसार यस मिसनको उद्देश्य भविष्यमा चन्द्रमामा मानव अवतरणका लागि आवश्यक प्रविधिको परीक्षण गर्नुका साथै नयाँ पुस्तालाई प्रेरित गर्नु हो।
यो अन्तरिक्षयान गएको बिहीबार चन्द्रमातर्फ प्रस्थान गरेको थियो र आउँदो शुक्रबार पृथ्वीमा फर्किने तालिका रहेको छ।

