भदौ २४ घटनामा सत्यतथ्य सार्वजनिक गर्न दबाब बढ्दै

काठमाडौं : भदौ २४ गते भएको घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारमाथि दबाब बढ्दै गएको छ। रामकुमारी झाँक्री लगायतका नेताहरूले उक्त घटनाको निष्पक्ष छानबिन गरी यथार्थ सार्वजनिक गर्न माग गरेका छन्।

सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै झाँक्रीले छानबिनमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाइन्। उनले भदौ २४ मा सिंहदरबार लगायतका सरकारी संरचनामा भएको आगजनी र तोडफोडको सत्य बाहिर ल्याउन आवश्यक रहेको बताइन्।

उनले आन्दोलनको प्रकृति—शान्तिपूर्ण वा हिंसात्मक—के थियो भन्ने स्पष्ट पार्नुपर्ने उल्लेख गर्दै घटनाको जिम्मेवारी कसले लिने भन्ने विषयमा पनि प्रश्न उठाइन्। साथै, युवालाई कसरी र किन परिचालन गरियो भन्ने विषयमा समेत अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ।

सांसद झाँक्रीले राज्यविरुद्ध हुने हिंसात्मक गतिविधिलाई सामान्य बनाउने प्रवृत्ति खतरनाक हुने चेतावनी दिँदै सरकारले यस घटनालाई गम्भीरतापूर्वक लिएर सत्यतथ्य सार्वजनिक गर्न ढिलाइ गर्न नहुने बताइन्।