आज संघीय संसद्का दुवै सदनको बैठक : अध्यादेश स्वीकृति र उपाध्यक्ष चयन मुख्य एजेन्डा

काठमाडौँ — सङ्घीय संसद्का दुवै सदन आज बस्दैछन्। प्रतिनिधिसभा को बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रियसभा को बैठक अपराह्न १२:१५ बजे बस्ने तय भएको छ।

प्रतिनिधिसभा बैठकमा तीन वटा अध्यादेश स्वीकृतिका लागि प्रस्ताव प्रस्तुत गरिने कार्यसूची छ। सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय का अनुसार, गृहमन्त्री सुधन गुरुङ ले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ।

उता, राष्ट्रियसभाको बैठक सिंहदरबार मा बस्नेछ। बैठकमा राष्ट्रियसभा सदस्य प्रेमप्रसाद दंगाल ले लिलाकुमारी भण्डारी लाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसैगरी, प्रधानमन्त्री बालेन्द्र शाह ले राष्ट्रिय मानवअधिकार आयोग को आर्थिक वर्ष २०८०/०८१ को २४औँ वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।