पर्यावरणीय सभ्यताबारे सि जिनपिङको विचारमाथि नेपालमा छलफल
काठमाडौं । पर्यावरणीय सभ्यता भए मात्रै दिगो विकास सम्भव भएकाले चिनियाँ राष्ट्रपति सि जिनपिङको अवधारणा विश्वभर लागू हुनुपर्ने विज्ञहरूले बताएका छन् ।

फ्रेन्ड्स अन द क्लाउड: प्लेटफर्म अफ इन्फ्लुएन्सर्सले आयोजना गरेको अन्तरक्रियामा अर्थविद् डा. चन्द्रमणि अधिकारी, डा. धर्म उप्रेती, डा. सञ्जयनाथ खनाल, संविधानसभा सदस्य विनोद पहाडी र संस्थाका अध्यक्ष शोभित उप्रेतीले वातावरणीय सभ्यता, चीनले अवलम्बन गरेको अभ्यास र नेपालले ध्यान दिनुपर्ने विषयमा धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै अर्थविद् अधिकारीले प्रकृतिलाई विश्वविद्यालय मानेर हिँड्नुपर्ने र हरेक मानवको पहिलो विश्वविद्यालय प्रकृति नै भएको उल्लेख गरे । निष्छल जल र हरित पहाडको सिद्धान्त आजको आवश्यकता भएको जनाउँदै उनले प्रकृतिबाट टाढा भए राजनीति, अर्थनीति, संस्कार र संस्कृति नै दूषित हुने धारणा राखे ।
डा. धर्म उप्रेतीले माटो, जल, हावा र ध्वनि सभ्यताको चर्चा गर्दै पर्यावरणीय सुधारका लागि राजनीतिक प्रतिबद्धता अनिवार्य रहेको धारणा राखे ।
डा. सञ्जयनाथ खनालले दिगो विकासको मान्यतालाई आत्मसात् गर्दै सुरक्षित र अझ सुन्दर पृथ्वी आउँदो पिँढीलाई हस्तान्तरण गर्नुपर्ने धारणा राखे ।
संविधानसभा सदस्य पहाडीले नेपालका पहाड नाङ्गो हुन थालेकोमा चिन्ता व्यक्त गर्दै विकास र वातावरण संरक्षणमा सन्तुलन कायम गर्नुपर्नेमा जोड दिए ।
चिनियाँ राष्ट्रपति सि जिनपिङले विकासका लागि पर्यावरणीय सभ्यताको अवधारणा सन् २००५ मा ल्याएका थिए ।


