संविधान संशोधनका लागि अशिम शाह नेतृत्वको कार्यदल गठन
काठमाडौँ, सरकारले प्रधानमन्त्री बालेन साहका राजनीतिक सल्लाहकार असीम साहको संयोजकत्वमा ‘संविधान संशोधन बहस पत्र’ तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । उनका अनुसार कार्यदलमा संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि समेत रहनेछन् । जसमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी (श्रसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रतिनिधि रहनेछन् ।

सोमबार दिउँसो सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
यसअघि चैत १३ गते बसेको बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले १०० कार्यसूचीअन्तर्गत चौथो बुँदामा देशको दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधार, निर्वाचन प्रणाली लगायतका विषयमा संविधान संशोधनसम्बन्धी राष्ट्रिय सहमति निर्माण गर्ने लक्ष्य अघि सारेको थियो ।
उक्त निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सात दिनभित्र ‘संविधान संशोधन बहस पत्र’ तयार गर्न कार्यदल गठन गर्ने र बहस प्रक्रियालाई सहभागितामूलक, पारदर्शी तथा तथ्यमा आधारित बनाउने उल्लेख गरिएको थियो ।
सरकारको यस निर्णयसँगै संविधान संशोधनसम्बन्धी बहसलाई औपचारिक रूपमा अगाडि बढाउने तयारी गरिएको देखिएको छ ।

