सीआईबीले अघि बढायो तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया
काठमाडौँ , तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीत्रय केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको हो।
तीन पूर्वप्रधानमन्त्री, दुई पूर्वमन्त्री तथा तिनका परिवारको सम्पत्तिमाथि अनुसन्धान अघि बढेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा नेपाल प्रहरीले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल, दुई पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्का तथा उनीहरूको परिवारको नाममा रहेका चल–अचल सम्पत्ति र आम्दानीको स्रोतलगायत विषयमा अनुसन्धान अघि बढाएको प्रहरी स्रोतले जानकारी दिएको छ।
यस्तै, पूर्वमन्त्री आरजु राणाका भाइ भुषण राणामाथि पनि सँगसँगै अनुसन्धान अघि बढाइएको छ। यसै क्रममा आइतबार बिहान कांग्रेस नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का बुढानीलकण्ठस्थित निवासबाटै पक्राउ परेका हुन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा उनलाई पक्राउ गरेको हो।
जेनजी आन्दोलनका क्रममा युवाको मृत्यु भएको विषयमा पूर्वप्रधानमन्त्री ओली शनिबार नै पक्राउ परिसकेका छन्।

