कार्की आयोगमा बालेनको बयान : तत्कालीन सरकारले आतंकवादी शैली अपनायो

काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाह ले भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ का क्रममा सरकारको भूमिकाबारे कडा टिप्पणी गरेका छन्।

पूर्वप्रधानन्यायाधीश गौरीबहादुर कार्की को संयोजकत्वमा गठित छानबिन आयोगमा बयान दिँदै बालेनले तत्कालीन सरकारले आन्दोलन नियन्त्रणका लागि अपराध र आतंकवादी शैली अपनाएको आरोप लगाए । उनले आफ्नो फेसबुकमा भनिएको भनिएको “सिंहदरबार जलाइदिन्छु” भन्ने अभिव्यक्ति असत्य भएको पनि स्पष्ट पारे।

बालेनका अनुसार, आन्दोलनका क्रममा सरकारको बल प्रयोग अत्यधिक र हिंसात्मक रहेको थियो, जसले मानवीय र भौतिक क्षति निम्त्यायो। उनले राज्य पक्षले यसको जिम्मेवारी लिनुपर्नेमा जोड दिए।

भदौ २३–२४ का घटनाबारे गठित आयोगले प्रतिवेदन सरकारलाई बुझाइसकेको भए पनि लामो समयसम्म सार्वजनिक नगरेको भन्दै आलोचना हुँदै आएको थियो। हाल उक्त प्रतिवेदनका अंश बाहिरिएसँगै बालेनको बयान पनि सार्वजनिक भएको हो।

जेनजी आन्दोलनका क्रममा राजधानीमा व्यापक प्रदर्शन, झडप र क्षतिको अवस्था सिर्जना भएको थियो, र घटनाबारे यथार्थ छानबिनको माग निरन्तर उठ्दै आएको छ।

यस्तो छ बालेनको बयान :

२०८२ साल भदौ २३ र २४ गते म सरकारी निवास लैनचौरमा थिएँ । २३ गतेको शान्तिपूर्ण र्‍यालीमा मेरो समर्थन थियो तर आन्दोलनमा थिएन । व्यवसायी र रेस्टुरेन्टहरूले आग्रह गरेपछि महानगर प्रहरी बलले पानी वितरण गरेको हो। २३ गते स्थिति तनावपूर्ण हुँदै गएको बेलुका सञ्चार माध्यमबाट थाहा पाएँ । मेरो सामाजिक सञ्जालको अभिव्यक्तिले अनियन्त्रित आन्दोलनलाई शान्त पार्न मद्दत गर्‍यो ।

जनधनको रक्षाका लागी सामाजिक सञ्जालमार्फत संयम अपनाउन अपिल गरेको थिएँ। घटनापश्चात महानगर प्रहरी बल लगायत अन्य विभागहरूसँग समन्वय गरी घाइते र मृतकहरूको परिवारलाई तत्काल आवश्यक सहयोग प्रदान गरिएको हो। भदौ २४ गतेको घटना दुस्खद थियो । २३ गते सरकारको अत्यधिक बल प्रयोग र आतंकवादी शैलीको नतिजा हुनसक्छ । २४ गते काठमाडौं महानगरपालिकाले समयमै दमकल पठाएको थियो र महानगरभित्रका संरचना महानगरकै दमकलले नियन्त्रण गरेको हो ।

सम्माननीय राष्ट्रपति र सेनापतिको आग्रहमा मेरो आन्दोलनलाई शान्त पार्ने भूमिका रहेको थियो। तत्कालीन सरकारले अपराध र आतंकवादी क्रियाकलाप गरेको हो र सम्पूर्ण क्षतिको जिम्मा तत्कालीन सरकार र सहभागी दलले लिनुपर्छ। काठमाडौं महानगरको फोहोर बोक्ने गाडी बञ्चरेडाँडा जाँदै गर्दा अनावश्यक रोकेपछि विरोधस्वरूप ‘मेटाफोर’ का रूपमा फेसबुकमा अभिव्यक्ति दिएकोमा ‘जलाइदिन्छुु’ शब्द प्रयोग भएको थिएन ।