इयू टी–२० बेल्जियममा ७ नेपाली क्रिकेटरको इन्ट्री

काठमाडौँ । पहिलोपटक आयोजना हुन लागेको इयू टी–२० बेल्जियम लिगका लागि ७ नेपाली क्रिकेटर विभिन्न टोलीमा अनुबन्ध भएका छन् । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित सात खेलाडीले लिगमा स्थान बनाएका हुन् ।

दीपेन्द्र सिंह ऐरी यसअघि नै जेबी ब्रुग्सबाट प्रि–साइन भइसकेका थिए भने सन्दीप लामिछाने लियेज रेड लायन्समा आबद्ध भइसकेका छन् । बाँकी खेलाडी भने हालै सम्पन्न ड्राफ्टमार्फत विभिन्न टोलीमा अनुबन्ध भएका हुन् ।

कप्तान रोहित पौडेल गेन्ट ग्लाडियटर्समा क्याटेगोरी ‘बी’ अन्तर्गत अनुबन्ध भएका छन् । विकेटकिपर आसिफ शेख क्याटेगोरी ‘सी’ अन्तर्गत एन्टवर्प एंकर्समा आबद्ध भएका छन् । त्यसैगरी ललित राजवंशी र इशान पाण्डेलाई जेबी ब्रुग्सले ड्राफ्ट गरेको छ ।

अप्सनल राउन्डमार्फत अनिल साह र गुल्शन झा पनि जेबी ब्रुग्समा समेटिएका छन् । यी चारै खेलाडी क्याटेगोरी ‘सी’ मा परेका हुन् ।

जेबी ब्रुग्स ड्रीम स्पोर्ट्सको स्वामित्वमा रहेको टोली हो, जुन एनपीएलको फ्रेन्चाइज जनकपुर बोल्ट्ससँग आबद्ध छ । उक्त टोलीले यसअघि न्युजिल्यान्डका ओपनर कलिन मनरो, दक्षिण अफ्रिकाका राशी भान डेर डुसेन, वायन पार्नेल र निखिल चौधरीलाई प्रि–साइन गरिसकेको छ ।

लिगका लागि कुल २२ नेपाली खेलाडीले नाम दर्ता गराएका थिए । ललित राजवंशी, आसिफ शेख र इशान पाण्डेका लागि यो नेपाल बाहिरको फ्रेन्चाइज लिगमा पहिलो सहभागिता हुनेछ । कप्तान रोहित, दीपेन्द्र र सन्दीप भने यसअघि नै अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेलिसकेका खेलाडी हुन् ।