सार्वभौमसत्ता र भौगोलिक अखण्डता रक्षा सर्वोपरि : अखिल (क्रान्तिकारी)

काठमाडौं । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रमा छिमेकी मुलुकको हस्तक्षेप र नेपाल सरकारको मौनतालाई लिएर अखिल (क्रान्तिकारी)ले कडा आपत्ति जनाएको छ ।

संगठनले सीमा नाका लिपुलेक भञ्ज्याङ हुँदै भारत–चीनबीच व्यापार सञ्चालनको तयारीबारे नेपाल सरकारलाई कुनै जानकारी नदिइएकोप्रति गम्भीर खेद प्रकट गरेको छ ।

अखिल (क्रान्तिकारी)का अध्यक्ष विरेन्द्र शाहले भने, ‘नेपालको भूमि र सीमा सम्बन्धी संवेदनशील विषयमा नेपाललाई बेवास्ता गरी गरिने गतिविधि अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मूल्य र पारस्परिक सह-अस्तित्व विपरीत छ । सरकारले तत्काल कदम चालेर नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डता सुरक्षित गर्नु अनिवार्य छ ।’

संगठनले सरकारसँग आग्रह गरेको छ कि उक्त क्षेत्रमा भइरहेको गतिविधिबारे आधिकारिक धारणा तुरुन्त सार्वजनिक होस् र कुनै पनि अतिक्रमण रोकियोस् । साथै, छिमेकी मुलुकहरूलाई पनि नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा प्रत्यक्ष असर पर्ने कुनैपनि गतिविधि नगर्न कडा चेतावनी जारी गरिएको छ ।

अखिल (क्रान्तिकारी)ले जनताको आवाजसहित राष्ट्रिय भूमि–अधिकार र सार्वभौमसत्ता संरक्षण अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।